१२ बैशाख २०८१, बुधबार

किसान सहकारीद्धारा अक्सिजन सिलिण्डर सहयोग



टीकापुर । कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले टीकापुर अस्पताललाई एक शय थान सिलिण्डर अक्सिजन रिफिल गरेर हस्तान्तरण गरेको छ ।

आज संस्थाका सञ्चालक समिति सदस्य सरोजकुमार शाहले अस्पतालका डाक्टर रमेश उपाध्यायलाई सिलिण्डर हस्तान्तरण गरेका हुन् ।किसान सहकारीले कोभिड १९ को दोस्रो भेरियन्टबाट प्रभावित बिरामीहरुलाई सहज रुपमा अक्सिजन आपूर्तिका लागि किसान अक्सिजन बैंक सञ्चालनमा ल्याएको थियो ।

उक्त बैंकमार्फत् सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर अस्पताल र लम्की अस्पताललाई अक्सिजन आपूर्ति गर्दै आएको सञ्चालक सदस्य शाहले बताए । आज टीकापुर अस्पतालमा अक्सिजन आवश्यकता भएका ३२ जना कोभिडका बिरामीहरुको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

सहकारी संस्थाले सञ्चालन गरेको अक्सिजन बैंकले यसअघि लम्की अस्पताललाई १५० थान रिफिल सिलिण्डर उपलब्ध गराइसकेको छ । स्थानिय अस्पतालहरुमा सिलिण्डर अभाव हुन नदिन संस्थाले अन्य संस्थासँगको सहकार्यमा खाली सिलिण्डर खरिद प्रक्रिया अघि बढाएको संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार