१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकारमाथि साइबर आक्रमण, कारवाही गर्न माग



धनगढी/ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘युगपुरूष प्रचण्ड’ नामक फेसबूक ग्रुपबाट आफूविरुद्ध हदैसम्मको निकृष्ट काम भएकोले त्यस्तालाई कानूनको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

त्यस्ता गतिविधिमा फेसबूकबाट आपत्ति जनाउदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले साइबर कानून कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न पनि आग्रह गरेका छन् ।

आफू कोरोना संक्रमित भएर आइसोलेशनमा रहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट व्यक्तिहरूले आफूलाई जोडेर विभिन्न आलका अफवाह फैलाएको उनको दावी छ ।

उनले भनेका छन् आइसोलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । ‘युगपुरूष प्रचण्ड’ नामक ग्रुपबाट नै म जिउँदो मान्छेलाई दुष्ट नियतका साथ ‘श्रद्धाञ्जलि’ नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य झनै छर्लङ्ग भएको छ, प्रेस सल्लाहकार थापाले फेसबूकको आफ्नो स्टाटसमा लेखेका छन् ।

उनले त्यस्ता अपराधपूर्ण कार्य गर्नेहरुलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न पनि चुनौती दिएका छन् ।

प्रेस सल्लाहकार थापाका नाममा नक्कली फेसबूक आइडी बनाएर समेत अनेकौ गलत हल्ला चलाउने काम पनि गरिएको छ । थापाले त्यस्ता आइडीबाट लेखिएका स्टाटस पनि आफ्नो फेसबूक सञ्जालमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार