१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट



काठमाडौँ ।  शुक्रबार तेस्रो पटक प्रधानमन्त्रीका रुपमा राष्ट्रपतिबाट लिइएको केपी शर्मा ओलीको शपथविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

आइतबार अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले दर्ता गर्न ल्याएका दुई छुट्टाछुट्टै रिटमा प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको छ ।

भण्डारीको रिटमा पुर्‍याउनुपर्ने रित पूरा नभएको र ज्ञवालीको रिट अध्ययनकै क्रममा रहेकाले आज दर्ता गर्न नसकिएको सर्वोच्चको रिट महाशाखाले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए ।

‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए ।प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन् ।

तर, ओलीले भने ‘त्यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाए । उनको जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन् । त्यसपछि ओलीको शपथग्रहणप्रति सामाजिक सञ्जालमा आलोचना भएको थियो ।साथै ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार