जुममार्फत सातै प्रदेशमा कोभिडको अवस्थाबारे अन्तर्क्रिया गर्दै नेपाली कांग्रेस, शीर्ष नेता सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिको आयोजनामा ‘कोभिड—१९ को अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम हुने भएको छ। कांग्रेसले जुममार्फत सातै प्रदेशमका कार्यक्रम गर्न लागेको हो।
कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसद, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ÷नगरपालिका कार्यसमितिका सभापति सहभागी हुनेछन्।
त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु र नेपाली कांग्रेस कोभिड–१९ जिल्ला अनुगमन समितिका संयोजकको समेत सहभागिता रहन बताइएको छ।
कार्यक्रमको प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउवा तथा विशिष्ट अतिथिका रुपमा नेता रामचन्द्र पौडेल रहने बताइएको छ। सबै प्रदेशको संयोजन नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक डा. प्रकाश शरण महतले गर्ने बताइएको छ।