१० श्रावण २०८१, बिहीबार

लागु औषध सहित कञ्चनपुरबाट एक जना पक्राउ



कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीबाट सशस्त्र प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्‍चनपुर मातहत बोर्डर आउट पोष्ट भुडा र झिलमिलाबाट खटिएको संयुक्त पैदल सीमा गस्ती टोलीले बेलडाँडी गाउँपालिका वडा नम्बर ०३ वैवाहबाट “प्रेस” लेखेको ज्याकेट लगाएका कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका वडा नम्बर ०४ बस्ने २५ वर्षीय नरेश प्रसाद जोशीलाई पक्राउ गरेको हो । 

शनिबार दिउँसो भारतीय नागरिकबाट केही लिएको शङ्का लागि चेकजाँच गर्ने क्रममा जोशीको साथबाट अन्दाजी ७ ग्राम खैरो हिरोईन नामक लागु औषध,  २ थान मोबाइल, १ थान क्यामेरा, ५ थान बैँक चेक, १ थान एटीएम कार्ड, १ थान सुदूर खबरको परिचय पत्र, १ थान प्रेस पास र मोटरसाइकलको ब्लु बुक समेत बरामद गरिएको छ । 

बरामद गरिएका सरसामान र पक्राउ परेका जोशीलाई आवश्यक कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्‍चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार