१० श्रावण २०८१, बिहीबार

प्रधानमन्त्री रोजगार कार्यक्रमः बन्दाबन्दीमै बन्यो पाँचसय मिटर पदमार्ग



बैतडी। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बैतडीको शिवनाथ गाउँपालिकामा रहेको ऐतिहासिक भानमतिधारा देखि शिवनाथ मन्दिरसम्म पाँचसय मिटर लामो पदमार्ग निर्माण भएको छ ।

कोरोनाका कारण सहर बजार बन्द भए पनि गाउँमा स्वास्थ्य मापदण्ड पालना गर्दै बन्दा बन्दीमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पदमार्ग निर्माण भएको गाउँपालिकाले जानकारी दिए । स्थानीय ढुङ्गाको प्रयोग गरेर १० लाख ४३ हजार रुपियाँमा पदमार्ग निर्माण भएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए ।

अध्यक्ष साउदले भने,“ कोरोनाका कारण सहरबजार बन्द भए पनि गाउँमा स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरि २६ जना स्थानीय बेरोजगार व्यक्तिले पदमार्ग निर्माण गर्नुभएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाले दुई करोड ५० लाख रुपियाँ प्राप्त गरेको छ ।”प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाले बेरोजगारहरुको सूची सङ्कलन गरेर गाउँपालिकामा नमुना काम गर्दै आएकोे छ ।

कोरोनाका कारण भारतबाट मजदुरी गुमाएर आएकाहरुले गाउँमै रोजगार पाउँदा खुशी लागेको पदमार्ग निर्माणमा संलग्न भाजसिंह धनाडीले बताए । बैतडीको शिवनाथ गाउँपालिका–६, स्थित ऐतिहासिक भानमतिधारा शिबजीको जटाबाट बग्ने पवित्र भागरथीगंगा जस्तै पवित्र भएको मन्दिरका पूजारी रामचन्द्र कलौनीले बताए । शिवनाथ मन्दिरमा यही भानमतिधाराको पानी लगेर मन्दिरमा पूजा हुने गरेको पुजारीले बताए ।

समुद्री सतहबाट करिब २५ सय मिटर उचाईमा रहेको ऐतिहासिक भानमतिधारामा व्रतबन्ध र चुडाकर्म गर्न भारतबाट समेत धार्मीक पर्यटक आउने गरेको मन्दिरका पूजारी रामचन्द्र कलौनीले बताए ।

शिबनाथ मन्दिरमा कार्तिक सप्तमीमा प्रसिद्ध शिबनाथ मेलामा लाग्ने गर्छ । मेलामा नेपाल–भारतबाट समेत हजारौं श्रद्धालु आउने गरेका छन् । शिवनाथ मन्दिरमा लाग्ने मेलामा छालाको भुकुण्डो खेल ऐतिहासिक खेल हो । असोजमा उदयदेव मन्दिरमा बलि चढेका राँगाको छालाबाट भकुण्डो तयार गरेर कार्तिकमा लाग्ने मेलामा स्थानीय साउद र धनाडी जातीका बीचमा भकुण्डो खेल हुने गरेको छ ।

भानमतिधारामा नुहाएर पवित्र भएपछि भुकण्डो खेलमा साउद र धनाडी दुई समूहमा मिलेर बिहान ५ बाजेदेखि दिउँसोसम्म भकुण्डो खेल हुने गर्दछ । भानमतिधारा संरक्षण गर्न यसअघि संघीय सरले नागरिक उड्ययन मन्त्रालबाट एक लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

भक्तजनलाई नुहाउन सजिलो होस् भन्ने हेतुले पानी सङ्कलन गर्न टंकी निर्माण गरेर पाँचवटा धारा निर्माण गरिएको शिवनाथ गाउँपालिकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार