२३ बैशाख २०८१, आईतवार

जनस्तरबाट अक्सिजन व्यवस्थाका लागि अभियान



टीकापुर । कोरोना संक्रमितहरुले अक्सिजन नपाएर छटपटाउनु परेको स्थितिमा टीकापुरमा जनस्तरबाट अक्सिजनका लागि अभियान अघि बढेको छ ।

टीकापुर सरोकार समुहको पहलमा सरोकारवालाहरुबीच भएको भर्चुअल छलफलबाट अक्सिजन सहयोग अभियान सञ्चालन गरिएको छ । अक्सिजनको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउनु पर्ने स्थितिलाई न्युनिकरण गर्न तत्काल अक्सिजन सिलिन्डर खरिद गर्न अभियान सञ्चालन गरिएको छ ।

अक्सिजन सिलिन्डर खरिद गर्न टीकापुर अस्पतालका अध्यक्ष दीपक रावल, टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी र टीकापुर सरोकार समुहका प्रतिनिधि नवराज भट्टराईको संयुक्त बैंक खाता खोलेर सहयोगका लागि सबैमा आह्वान गरिएको छ ।

अक्सिजन सहयोग अभियानका प्रवक्ता परमानन्द पाण्डेका अनुसार अभियानका क्रममा हालसम्म अक्सिजन सिलिन्डर खरिद गर्न पाँच लाख १२ हजार चार सय रुपैयाँ खर्च भइसकेको छ ।

अभियानका प्रवक्ता पाण्डेले प्रेषित गरेको एक प्रेस नोटमा हालसम्म समाजका विविध पक्षबाट अक्सिजन सिलिन्डर खरिदका लागि ३७ लाख ९६ हजार ४१४ रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

“यस अभियानका लागि सहयोग गर्नुहुने देश, परदेशका सबै महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दै सबैबाट थप सहयोगका लागि आह्वान गर्दछौं” प्रेस नोटमार्फत सहयोग अभियानले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार