२३ बैशाख २०८१, आईतवार

अस्पतालमा अभावैअभाव



बैतडी । मेलौली नगरपालिका–२ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान जिल्ला अस्पताल बैतडीमा मृत्यु भयो । वैशाख २३ गते श्वासप्रश्वासको समस्या भएर अस्पताल आएका उनलाई कोरोना देखिएको थियो ।

यस्तै, शुक्रबार पनि पाटन नगरपालिका–४ का ४० वर्षीय पुरुषको मृत्यु भएको थियो । अघिल्लो दिन कोरोना पुष्टि भएर जिल्ला अस्पतालमा उपचार गराइरहेका उनको थप उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो ।कोरोनाको दोस्रो लहरबाट जिल्लामा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या पनि प्रतिदिन बढेको छ । आइतबारसम्म जिल्लामा ६ सय ६ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

कोरोना संक्रमण र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला जिल्लामा उपचारका स्रोतसाधनको अवस्था भने चिन्ताजनक रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

‘लक्षणसहितका बिरामी देखिने क्रम पनि बढिरहेको छ,’ उनले भने, ‘अक्सिजनको भने अभाव देखिएको छ । जिल्लाका सबै एम्बुलेन्स अक्सिजनविहीन भएर चलिरहेका छन् ।’ उनका अनुसार जिल्लामा सबै अक्सिजन सिलिन्डर रित्ता छन् । ‘डडेलधुरा र धनगढीबाट भरेर ल्याउने गरेका थियौं । अहिले त्यहाँ पनि पाइरहेका छैनौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार