१० श्रावण २०८१, बिहीबार

कञ्चनपुरमा इँटा उद्योगको कोइला पिस्ने मेसिनमा परी एक बालकको मृत्यु



फाइल तस्बिर

कञ्चनपुर । कञ्चनपुरमा इँटा उद्योगको कोइला पिस्ने मेसिनमा परी एक जना बालकको मृत्यु भएको छ।  जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरमा रहेको जगदम्बा इँटा उद्योगमा काम गर्ने १३ वर्षीय एक बालकको कोइला पिस्ने मेसिनमा परी मृत्यु भएको छ ।

इँटा उद्योगमा ज्याला मजदुरी गर्दै आएका १३ वर्षीय बालक  अर्जुन पुजाराको कोइला पिस्ने मेसिनमा परी मृत्यु भएको हो।  अर्जुन पुजाराको गए राति उद्योगमा काम गर्दै गर्दा कोइला पिस्ने मेसिनमा परी टाउको र शरीर अलग भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

भीमदत्त नगरपालिका वडा नम्बर १० बस्ने ती बालक सिद्धनाथ माविमा कक्षा ८ मा अध्ययनरत थिए  । मृतक बालकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । इँटा उद्योगमा बालकलाई मजदुरी गर्न लगाई बाल शोषण गरेको भन्दै अधिकारकर्मी तथा स्थानीयहरूले उद्योग सञ्चालकको विरोध गरेका छन्  ।  

उद्योग सञ्चालकलाई कानुनी कारबाही र क्षतिपूर्ति नभएसम्म शव नबुझ्ने परिवारजनको अडान छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार