८ कार्तिक २०८१, बिहीबार

भीमदत्त नगरपालिकाद्वारा महाकाली अस्पताललाई २० लाख रकम सहयोग



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई २० लाख रकम सहयोग गरेको छ । बिहीबार महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) लाई भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट र उपप्रमुख सुशीला चन्द (सिंह) ले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् ।

महाकाली अस्पतालमा कोभिड-१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक अक्सिजन ग्यास खरिद, आइसियु तथा भेन्टिलेटर सञ्चालन र व्यवस्थापन गर्नका लागि भीमदत्त नगरपालिकाले अस्पताललाई २० लाख रकमको चेक हस्तान्तरण गरेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए ।

एक्लो प्रयासबाट मात्रै कोभिड १९ को सङ्क्रमण रोकथाम गर्न असम्भव भएकोले सबै पक्षको सामूहिक प्रयास अत्यावश्यक रहेको उनको भनाई छ ।  

चेक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) ले अन्य स्थानीय तह, प्रदेश सरकार तथा सङ्घीय सरकार, सरकारी तथा गैरसरकारी विभिन्न सङ्घसंस्थाहरू र अन्य व्यवसायी दाताहरूबाट यसरी नै भौतिक, आर्थिक एवं नैतिक सहयोगको अपेक्षा गरे । यसअघि वेदकोट नगरपालिकाले समेत महाकाली अस्पताललाई १० लाख सहयोग रकमको चेक प्रदान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार