भजनीमा अक्सिजनसहित अस्थायी कोरोना अस्पताल

टीकापुर । कैलालीको दक्षिणी भजनी नगरपालिकाले कोरोनाको दोश्रो लहर फैलिएपछि १५ शैयाको अक्सिजनसहितको अस्थायी कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको छ ।
एक चिकित्सक र दुई स्टाफ नर्सलगायत अन्य स्वास्थ्यकर्मीसहितको टोलीले सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो ।
नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले नगरपालिकाले आर्थिक खर्च तथा व्यवस्थापन गर्ने गरी अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको बताए ।
नगर प्रमुख चौधरीले तत्कालका लागि १० लाख बजेट रकम छुट्याएर कोभिड संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि अस्पताल सञ्चालन गरिएको बताए । नगरपालिकाले ५ शैयाको अर्को अस्पताल समेत सञ्चालन गर्ने तयारी गरेको छ ।
हाल अस्पतालमा ८ वटा अक्सिजन सिलिण्डर रहेका छन् भने थप २० वटा खरिदको प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।