सेती अस्पतालको प्राङ्गणमै बिरामीको उपचार हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशकै रेफर सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितले भरिभराउ भएपछि अहिले अस्पतालको प्राङगणमै राखेर उपचार गर्न अस्पताल बाध्य भएको छ । अस्पतालमा हाल ५० जना कोभिड संक्रमितको उपचार हुँदैछ ।
कोभिड परीक्षणका लागि स्वाब दिएका तर रिपोर्ट प्राप्त नगरेका शंकास्पद र गम्भीर प्रकृतिका बिरामीको संख्या झन बढी छ । उनीहरूको प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
आकस्मिक कक्षका शय्या भरिभराउ भएपछि आधा दर्जन बढी बिरामीलाई ग्यालरीमा पनि राखिएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अहिले ग्यालरी पनि भरिभराउ भएपछि अस्पतालको प्राङगणमै राखेर उपचार गरिरहेको जनाएको छ ।
मंगलबार रातिदेखि शंकास्पद बिरामीको संख्या बढेपछि अपस्तालको प्राङगणमै राखेर उपचार थालिएको उनले बताए । आकस्मिक कक्ष, अस्पतालको ग्यालरी र प्राङगणमा उपचार भइरहेका सबै बिरामीमा कोभिडको लक्षण रहेकोले उनीहरूको स्वाब संकलन पनि भइसकेको उनले बताए ।
रिपोर्ट नआउँदासम्म त्यहि उपचार हुने र संक्रमण पुष्टि भए कोभिड अस्पतालमा लैजाने वा नभए त्यहि उपचार गर्दै आईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए । पछिल्लो समय कोभिड परीक्षणमा ढिलाई हुन थालेपछि रिपोर्ट कुर्दाकुर्दै संक्रमितले ज्यान गुमाउन थालेका छन् ।