२० बैशाख २०८१, बिहीबार

महामारीमा यार्चा संकलनमा जुटे स्थानीय



बझाङ । बझाङका हिमाली क्षेत्रका गाउँपालिकाका स्थानीयबासिन्दाहरु कोरोना महामारीकावीच यार्चागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन् । यार्चा सङ्कलनको सिजन सुरु भएपछि स्थानीयबासिन्दा खानेकुरा, लुगा फाटो लिएर लेकतिर जान थालेका छन् ।

मुख्य आम्दानीको स्रोतका रुपमा रहेको बहुमुल्य बुटी यार्चा सङ्कलनका लागि स्थानीयहरु गाउँ घर रित्तो पारेर लेकतिर जान थालेका हुन् । यार्चा टिप्न स्कुले विद्यार्थीदेखि हिड्न सक्ने सबै उमेरका मानिसहरु वैशाखदेखि असारसम्म यार्चा सङ्कलनका लागि सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाका विभिन्न स्थानमा जाने गर्दछन् ।

ग्रामीण भेगमा कोरोनाको उच्च जोखिम भएकै बेला यसरी हजारौंको संख्यामा मानिसहरू लेकतिर जाँदा झन् जोखिम बढ्ने स्थानीयहरुको भनाई छ । यार्चा संकलनका लागि लेकतिर जानेहरुले अनिबार्य रुपमा पीसीआर गरेर जानु पर्ने स्थानीयहरुले सुझाव दिदै आएको भएपनि त्यसको मतलव नगरेर स्थानीयहरु धमाधम लेकतिर गइरहेका छन् ।

साइपाल, तलकोट, सुर्मा, मस्टा, छबीस पाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाका स्थानीयहरूको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा अन्य खालका जडीबुटी हुन । गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले यार्चागुम्बा पाइने पाटनहरूमा सङ्कलकहरूको भीड हुने र कोरोनाको सङ्क्रमण फैलिने सम्भावना भएपछि जोखिम न्यूनीकरणका लागि यार्चा सङ्कलनमा रोक लगाएको थियो ।

यस वर्ष भने स्थानीयतहले पनि यार्सा सङ्कलन गर्न रोक लगाएको छैन् । बझाङको उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आयस्रोतका अन्य माध्यम नहुँदा यार्चा र जडीबुटी सङ्कलन आम्दानीको मुख्य स्रोत यार्चा भएपछि त्यस क्षेत्रका बासिन्दाहरू परिवारसहित यार्चा सङ्कलनका लागि घरमा ताला लगाएर वैशाखदेखि असार मसान्तसम्म तीन महिनाका लागि लेकतिर जाने गरेका छन् ।

यार्चा सङ्कलन गर्ने पाटनहरूमा हिउँ पग्लिन थालेपछि त्यसतर्फ जानका लागि स्थानीयहरुको लर्को लागेको सुर्मा गाउँपालिका–२ का पारस बोहराले बताए । ‘केही वर्ष यता यार्सा खासै पाइँदैनथ्यो । गत वर्ष कोरोना महामारीका कारण भएको बन्दले सङ्कलनको काम प्रभावित भयो । यार्चा सङ्कलन गर्न नपाउँदा रोजीरोटी खोसियो’ उनले भने, त्यसैले यसपटक जसरी पनि यार्चा टिप्ने दाउमा स्थानीहरु छन् ।

यस वर्ष धेरै मात्रामा यार्चाको सङ्कलन हुने स्थानीयको अनुमान छ । बुङ्गल नगरपालिकाका धौलाढुङ्गा, चुफी, कालीगाड, छरछरे, जलजला, नीलखट्टी, ठाडे सुर्मा र साइपाल गाउँपालिकाका जलजला, डाँफेचुली, तपोवन, डाँडा, नीलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, माझा, फरालखेत, कालापानी, राइढुंगी स्याङ्वनलगायतका वन क्षेत्रमा यार्सा संकलकहरू पुगिसकेका छन् ।

साइपाल गाउँपालिका–३ जसबिर बोहरा यार्साबाट मात्रै एक परिवारले तीन महिनाको अवधिमा तीन लाखदेखि ७ लाखसम्म आम्दानी गर्न सक्ने बताए । यार्सा तथा जडीबुटी सङ्कलन नगरे भोकमरीको चपेटामा परिने गरेको उनको भनाइ छ ।

यस वर्ष यार्चा सङ्कलन रोक्ने नरोक्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्यालय, बझाङका कार्यालय प्रमुख कर्णबहादुर खातीले बताए । उनले भने, ‘हाम्रो जिल्लामा अहिले यार्चा सङ्कलन गर्ने सिजन नै हो । विभागबाट पनि कुनै पत्राचार भएको छैन् । सरकारले पनि यसबारेमा कुनै निर्णय गरेको छैन । ‘बझाङमा प्रतिवर्ष झण्डै तीन देखि चार क्वीन्टलसम्म यार्चा सङ्कलन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार