२० बैशाख २०८१, बिहीबार

धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमण दरमा उच्च बृद्धि



रोकथामका लागि उपमहानगरपालिकाको गति सुस्त

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा पछिल्ला दिनहरूमा कोरोना संक्रमित दर उच्च बनेको छ । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरण अनुसार सोमबारसम्म उपमहानगरपालिकाभित्र सक्रिय संक्रमितहरूको संख्या आठ सय ८४ पुगेको छ ।

कैलाली जिल्लाको कोरोनाको कुल सक्रिय संक्रमितको संख्याको तुलनामा उपमहानगरपालिकामा संक्रमित दर ७० प्रतिशत रहेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांक अनुसार कैलालीमा सोमबारसम्म एक हजार दुई सय ४६ सक्रिय कोरोना संक्रमित रहेका छन् ।

धनगढी उपमहानगरपालिकामा पछिल्लो सात दिनको अवधिमा छ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार बैशाख १४ मा एक सय २७ जना नयाँ संक्रमित थपिएका थिए ।

त्यस्तै, बैशाख १५ गते एक सय ४२, १६ गते एक सय १०, १७ गते ४८, १८ गते ८७, १९ गते एक सय एक र २० गते ५३ जना नयाँ संक्रमित थपिएका छन् ।

धनगढी उपमहानगरपालिकाका अनुसार वडा नम्बर ५ मा सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । वडा नम्बर ५ मा एक सय ४५ पुरुष र ७४ महिला गरी दुई सय १९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै, वडा नम्बर १ मा ९२ पुरुष र ५३ महिला गरी एक सय ४५ सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट हालसम्म उपमहानगरपालिकाभित्र २२ जनाको मृत्यु भइसकेको छ । उपमहानगरपालिकाभित्र हालसम्म नौ हजार आठ सय ६० स्वाव संकलन गरिएको जनाइएको छ । हालसम्म उपमहानगरपालिकामा तीन हजार छ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

उपमहानगरपालिकामा भयावह रुपमा फैलदै गए पनि नियन्त्रण तथा रोकथामका लागि उपमहानगपालिकाको काम भने सुस्त गतिमा रहेको छ ।

उपमहानगरपालिकाले संक्रमितको तथ्यांक संकलन गर्न बाहेक अन्य काम गर्न नसकेको स्वास्थ्य शाखाले स्वीकार गरेको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अहेव लक्ष्मीराज उपाध्यायले भने– अहिलेसम्म सिमानाकामा होल्डिङ सेन्टर स्थापना गरिएको छैन । संक्रमितको उपचारका लागि आइसोलेसन पनि छैन । भारतबाट फर्केकाहरूको सिमानाकामा एन्टिजेन परिक्षणबाट पोजेटिभ आए उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीस्थित आइसोलेसनमा राखेर पठाउने गरिएको छ । तर होम आइसोलेसनमा रहेका व्यक्तिहरूको निगरानी गर्ने कुनै संयन्त्र नै बनेको छैन ।

गत वर्ष (२०७६ साल) चैतमा धनगढी उपमहानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिनु अघिनै उपमहानगरपालिकाले नियन्त्रण तथा संक्रमण फैलन नदिन होल्डिङ सेन्टरदेखि होम आइसोलेसनमा रहेका व्यक्तिहरूको निगरानीको व्यवस्था गरेको थियो ।

त्यस्तै, भारतका विभिन्न राज्यबाट फर्केका नेपालीहरूलाई उपमहानगरपालिकामा होम आइसोलेसनमा राख्ने र त्यहा बसेका व्यक्तिहरूको निगरानी गर्ने तथा उनीहरूको अभिलेख राख्ने जिम्मेवारी वडाका प्रतिनिधीहरूलाई दिइएको थियो ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अहेव उपाध्यायले भने– हाल कनरीस्थित आइसोलेसनको व्यवस्थापनको जिम्मा जिल्ला स्वास्थ्य कार्यालयले लगेको छ ।

उपमहानगरपालिकाले सिमानाकामा कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिहरूलाई आइसोलेशन सेन्टरसम्म पुर्याउन एक गाडी र एम्बुलेन्सको व्यवस्था गरेको छ ।

अहेव उपाध्यायले मंगलबार नगर प्रमुख नृपबहादुर वडको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले गेटा मेडिकल कलेजमा पाँच सय बेडको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको बताए ।

उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष विजयराज जोशीले भने– यो वर्ष स्थानीय तहले कोरोना नियन्त्रणका लागि बजेट पनि विनियोजन गरेको छैन । हामीले पनि संक्रमण फैलन नदिन कुनै काम गर्न सकेका छैनौं ।

वडाध्यक्ष जोशीले संघीय सरकारदेखि स्थानीय तहहरूले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि खासै गतिविधि सञ्चालन नभएको बताए ।

उपमहानगरपालिकाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका प्रयासहरू अघि बढाउन वडा नम्बर ८ का अध्यक्ष नारायण बराललाई गत वर्ष कोभिड–१९ का सम्पर्क व्यक्ती तोकेको थियो । वडा अध्यक्ष बरालले भने– यस वर्ष हामीले कोरोना संक्रमितको तथ्यांक लिने, सिमानाकामा कोरोना पोजेटिभ पुष्टि भएकाहरूलाई कनरी आइसोलेशनमा पुर्याउने बाहेक अरु काम गर्न सकेका छैनौं ।

उनले यस वर्ष पनि पुरानै समितिलाई जिम्मेवारी दिने र संक्रमण नियन्त्रणका लागि आवश्यकता अनुसारका गतिविधी अघि बढाउने भनेर अहिले सामान्य छलफल भएको बताए । उनले भने– पुरानै समितिलाई निरन्तरता दिने भनेर सामान्य छलफल भएको छ । अब दुई÷तीन दिनमै बैठक बसेपछि सोही निर्देशनका आधारमा काम गरिन्छ ।

वडाध्यक्ष बरालले सोही बैठकपछि १९ वटै वडामा आवश्यकता अनुसार क्वारेन्टाइन स्थापना गर्ने र आइसोलेसन बनाउने लगायतका कुरा सम्पूर्ण वडामा सर्कुलर गरिने बताए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले अहिले उपमहानगरपालिकाले कोभिड नियन्त्रणका लागि भनरै कुनै रकम विनियोजन नगरिएको जानकारी दिए ।

उनले भने– उपमहानगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषबाटै आवश्यकता अनुसार कोरोना नियन्त्रणका लागि रकम खर्च गरिने छ ।

उनका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ मा विपद व्यवस्थापन कोषमा एक करोड १२ लाख ७१ ह्जार एक सय ४० रुपैया विनियोजन गरेकोमा हालसम्म ६९ लाख ३० हजार आठ सय २२ रकम खर्च भइसकेको छ । उनले भने– यो रकम कोरोना नियन्त्रण तथा संक्रमण रोकथामका लागि खर्च भएको हैन । विपद सामग्री खरिद र आगलागीबाट पीडित भएका व्यक्तिलाई राहत लगायतमा खर्च भएको हो ।

उनले बाँकी रहेको ४३ लाख ४० हजार दुई सय १८ रुपैयाँ पनि विपदका लागि नै खर्च हुन सक्ने प्रतिक्रिया दिए ।

उपमहागनरपालिकाले गत आर्थिक वर्ष २०७६÷७७ मा ससर्त अनुदान अन्तर्गत २६ लाख ५० हजार रुपैया विनियोजन गरिएकोमा पाँच लाख २५ हजार र निसर्त अनुदान अन्तर्गको एक करोड दुई लाख रुपैया विनियोजन गरेकोमा ९५ लाख ८७ हजार पाँच सय ८० रुपैया खर्च भएको जनाइएको छ ।

उपमहानगरपालिकाले गत वर्ष कोरोना नियन्त्रणका लागि भनेर स्थापना गरेको कोषमा व्यक्ति तथा संस्थाबाट १२ लाख रुपैया बढी रकम सहयोग संकलन गरेको थियो । सो रकम आइसोलेशन व्यवस्थापन, सरसफाई सामग्री खरिद, क्वारेन्टिन सेन्टरमा रहेकाहरूको खानाको व्यवस्था लगायतमा खर्च भएको जनाइएको छ । वडा अध्यक्ष बरालले भने– कोरोना कोषमा जम्मा भएको रकम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार