२२ बैशाख २०८१, शनिबार

डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव, आइसीयूमा लाइन



डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको एक मात्र संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालममा अक्सिजनको हाहाकार भएको छ। अक्सिजन अभाव भएपछि अस्पतालले अक्सिजन सपोर्टबाट उपचार गर्नु पर्ने कोरोना संक्रमित बिरामीलाई पनि भर्ना गर्न छोडेको छ।

सात पहाडी जिल्लाको केन्द्र भएकाले डडेल्धुरा अस्पताल अधिकांशको रोजाइमा परेसंगै कोभिडका बिरामीले भरिएको छ। दार्चुला, बैतडी, बझाङ, डोटीले अहिले पनि डडेल्धुरा अस्पतालमै रिफर गरिरहेका छन्। तर यहाँ भर्ना हुन नपाएपछि फेरि ६ घण्टको बाटो भएर धनगढीको सेती अस्पतालमा जानु पर्ने बाध्यता छ। सेतीले पनि बिरामी भर्ना लिन छोडेपछि नेपालगञ्ज जानु पर्ने बाध्यता रहेको छ। जसका कारण अक्सिजन चाहिने संक्रमितको बाटोमा नै ज्यान जाने खतरा बढेको छ।

डडेल्धुरा अस्पतालको अक्सिजन प्लान्टबाट दैनिक २७ सिलिण्डर भर्ने क्षमता हो, जसले ११ जनालाई अक्सिजनमा राखेर उपचार गर्न सक्छ तर अहिले २३ जनालाई अक्सिजन दिई रहेको अस्पताल स्रोतले भनाई छ।  ५ बेडको आइसीयू पनी भरिएको छ। थप २ जना लाईनमा बसेका छन्। त्यही पनि डडेल्धुरा भन्दा बाहिरी जिल्लाका हुन्। 

अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट छ। त्यसको दैनिक ११ जनालाई मात्रै अक्सिजन दिनसक्ने क्षमता छ। 

अस्पतालले पाइपलाइनबाट अक्सिजन बेडसम्म पुर्‍याउने व्यवस्था गरेको छ। ‘एकदम छिटो सिलिण्डर भर्न सक्ने प्लान्ट आवश्यक परेको छ, जुन तत्काल व्यवस्था गर्न संम्भव छ’ एक चिकित्सकले भने, ‘हामीसंग एक संस्थाले १४ दिन भित्र जडान गरि दिन्छौं भनेको छ तर आर्थिक अभाव छ। कसले सहयोग गर्ने भनेमा अलमलीएका छौँ।’

अक्सिजन प्लान्ट जडान गर्न अक्सिजन उत्पादन गर्ने मुख्य मेसिन लगाउनु पर्ने हुन्छ । ४० एलपीएम (प्रतिमिनेट ४० लिटर अक्सिजन बहने) क्षमताको मेसिन कर्णाली प्रदेश सरकारको ३९ लाख २२ हजार रुपैयाँमा ल्याइएको छ। भेरीले पनि जडान गरीरहेको छ। 

लक्षणसहितका कोरोना संक्रमित बढ्दै जाँदा अक्सिजन प्लान्टको माग पनि चर्कोसँग डडेल्धुरामा पनि उठेको छ।  जिल्ला समन्वय समितिले अन्य स्थानीय तहको समन्वयमा अक्सिजन प्लान्ट खरिद गरी जडान गर्न पहल थाल्नु पर्ने यहाँका स्वास्थ्यकर्मीहरुको भनाइ छ। हरेक स्थानीय तहले कम्तीमा १० वटा अक्सिजन सिलिन्डर, २० वटा अक्सिमिटर र २० वटा अक्सिजन कन्सन्टेटर तत्काल व्यवस्था गर्ने गरी आवश्यक समन्वयको हुन पर्ने थियो तर यहाँ त्यो नहुदाँ अस्पतालकै भर पर्नु परेको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार