२२ बैशाख २०८१, शनिबार

कोरोनाको दुस्प्रभाव– विकराल बन्दै मनोसामाजिक समस्या



कैलाली । कैलालीको टीकापुरकी ४० वर्षीय अनिता (नाम परिवर्तन) का श्रीमानको कोरोना संक्रमणका कारण दुवईमा मृत्यु भयो । उनी वैदेशिक रोजगारीका शिलशिलामा दुवईमा रहेका थिए । तीन वर्ष दुवईमा रोजगारी गरेर घर फर्कने तयारीमा रहेका अनिताका श्रीमान् दिनेश गुरुङले कोरोना संक्रमणपछि हवाई सेवा बन्द भएका कारण घर फर्किन पाएनन् । ४१ वर्षीय दिनेशसँग अनिताको अघिल्लो बैशाख महिनाको अन्त्यमा फोनमा कुराकानी भएको थियो । दुई दिनअघि टाउको दुखेको छ भनी फोन गरेका दिनेशसंग दुई दिनपछि फोन गर्दा फोन उठेन । उनकोे फोन रिसिभ हुन छोडेपछि घरपरिवारमा चिन्ता छायो ।

अनिताकी छोरीले दिनेशसँगै दुवईमा काम गर्ने साथीलाई म्यासेन्जरमा फोन गरिन् । उनले दिनेशलाई कोरोना भाइरस संक्रमण भएकोले अस्पताल लैजान लागेको खबर दिए । त्यसपछि १० दिनसम्म न दुवईबाट फोन आयो, न कसैसँग सम्पर्क भयो । यता परिवारमा पीडा थपियो । ११ दिनपछि गत वर्ष जेठ ६ गते दिनेशले काम गर्ने कम्पनीका मालिकले फोनमा दिनेशको कोरोना संक्रमणका कारण मृत्यु भएको खबर सुनाए । कम्पनीका मालिकले गरेको फोनकल अनिताले नै उठाएकी थिइन् । घर आउने तयारीमा रहेका श्रीमान्को मृत्युको खबर अनितालाई असह्यै भयो । उनी मुर्छित भइन् । छिमेकीले पनि त्यो फोन कल सुने । दुवईमा रहेका दिनेशको कोरानाका कारण मृत्यु भएको खबर गाउँमा फैलियो । दिनेशको परिवारमा मात्रै नभएर गाउँभरी शोक छायो ।

अनिताका तीन छोरी र दुई छोरा छन् । जेठी छोरीको उमेर २१ वर्ष पुगेको छ । भने कान्छी छोरीको दुई वर्षकी भइन् । छोराछोरीहरुले बुबा (दिनेश) का साथी र कम्पनीका मालिकलाई दिनेशको शवको भिडियो वा फोटो मागे, तर पाएनन् ।

दुवईमा दिनेशको मृत्यु भएको १६ दिनपछि त्यहाँको सरकारले उनको अन्त्यष्टी ग¥यो । त्यसपछि घरमा उनको काजक्रिया भयो । दिनेश विदेश जाँदा पाँच लाख रुपैयाँ ऋण लिएका थिए । उनको दुवईमा खासै कमाइ थिएन । ‘‘दुई÷तीन महिनामा कहिले ४० हजार रुपैया त कहिले ५० हजार रुपैयाँ पठाउँथे । त्यो रकम घरखर्चमै सकिन्थ्यो । दिनेशले पठाएको रकम बचाएर अनिताले दुई लाख ५० हजार रुपैयाँ ऋण तिरिसकेकी थिइन् । अझैं दुई लाख ५० हजार रुपैयाँ ऋण तिर्न बाँकी छ ।

अनिताले सुस्केरा हाल्दै ले भनिन्– पाँच जना छोराछोरी छन् । घरमा सम्पत्ती छैन । कमाउने आधार छैन । रोजगारीमा गएका श्रीमान् अर्काको देशमा बिते । मैले केही सोच्न सकिन । हामीले आत्महत्या गर्ने योजना बनायौँ ।’’

अनिता र उनका छोराछोरीले विष सेवन गरेर सामूहिक आत्महत्या गर्ने योजना बनाए । उनीहरु हरेक दिन साँझ मर्ने योजना बनाउँथे । ‘‘म तीन महिनासम्म कहिल्यै पनि राम्ररी सुत्न सकिन । खाना खाने मन लागेन । अरुसंग बोल्न पनि मन लागेन । सधैं टोलाई मात्रै रहे’’ उनले भनिन्– मैले मृत्यु मात्र विकल्प देखे ।

अनिताको मानसिक अवस्था बिग्रन थालेको चाल पाएपछि छिमेकीले कैलालीको लम्की घर भएका मनोसामाजिक परामर्शकर्ता धनराज विकलाई खबर गरे । धनराज हतार हतारमा अनिताको घर पुगे । उनले मनोसामाजिक परामर्श शुरु गरे । बल्ल केही दिनपछि अनिताको अवस्था सामान्य बन्यो ।

मनोसामाजिक परामर्शकर्ता धनराजले १० दिनसम्म लगातार अनिता र उनका छोराछोरीलाई परामर्श सेवा दिए । विस्तारै अनिता शान्त बनिन् । धनराजको सल्लाहमा उनले श्रीमानको विमा रकम दावी गरिन् । बिमाबाट १० लाख रुपैया प्राप्त भयो । ‘बिमाको रकम पाएपछि मैले श्रीमानले दुवई जाँदा लिएको ऋण तिरे । बचेको रकमले सानो घर बनाउन थालेकी छु’’ उनले भनिन्– समस्या त अहिले पनि छ । पढिरहेका दुई छोरी पढाई छोडेर भारत कमाउन गएका छन् । मैले जन्मेपछि मृत्यु हुन्छ नै भन्ने बुझे । अब बाँच्छु । छोराछोरीको सहारा बन्छु ।

अनिताकी कान्छी छोरी एसइइ उत्र्तिण भएकी छिन् । उनी कृषि विज्ञान विषय पढ्ने योजनामा थिइन्, तर घरको आर्थिक अवस्था कमजोर भएकोले उनी पढाई छोडेर कमाउनका लागि भारत गएकी छिन् । उनको पढ्ने सपना बुवाको मृत्युसंगै निम्तिएको गरिवीले तुहाएको छ ।

टीकापुरकै ४३ वर्षीय कविताको कथाव्यथा पनि उस्तै छ । उनका श्रीमान् शेरबहादुर शाही पाँच वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए । विश्वभरी कोरोना महामारी फैलियो । कोरोना महामारीकै बीच उनले गत वर्ष मलेसियामै आत्महत्या गरे ।

शेरबहादुर मलेसिया गएको पाँच वर्ष भएको थियो । उनी मलेसिया गएको तीन वर्षपछि एकपटक घर आएर थिए । फेरि मलेसिया गएका उनले दुई उतै वर्ष बिताएर सधैँका लागि घर फर्कने योजनामा थिए । गत वर्ष साउनमा उनले आत्महत्या गरेको खबर आयो । कविताका चार छोराछोरी सन्तान छन् । गत वर्ष साउन १६ गते साँझ घरमा श्रीमती र छोराछोरीसँग कुराकानी गरेका उनी त्यसपछि सम्पर्कबिहीन भए । कविताले जीवनको त्यो अति कठिन दिन थियो । १७ गते बिहानै उनको मृत्युको खबर आयो । ‘‘अघिल्लो वर्ष (२०७६ साल) फागुनपछि कोरोना महामारीका कारण उहाँको खासै काम चलेको थिएन । सातामा दुई दिन सामान्य खर्चका लागि काम दिएको छ भन्नुहुन्थ्यो । हवाई सेवा खुलेपछि घर फर्किन्छु भन्नुभएको थियो’’ आँसु झार्दै श्रीमती कविताले भनिन्– एक्कासी उहाँको मृत्युको खबर आयो । १३ दिनपछि बाकसमा उहाँको शव फर्कियो ।

शेरबहादुरको मृत्युपछि कविताको परिवारमा बिचल्लीमा प¥यो । श्रीमती कविताको सानो कस्मेटिक पसल थियो । श्रीमान वितेको तीन महिनासम्म निकै तनाव भएको उनले बताइन् । भनिन्– उहाँको मृत्युपछि मैले संसार देख्न छोडे जस्तै अनुभव भयो । मेरो जीवन नै समाप्त भएको अनुभव गर्न थाले । राती निद्रा लाग्न छोड्यो ।

श्रीमानको मृत्युले अति विचलित भएकी कवितामा डिप्रेसनको समस्या बल्झिन थाल्यो । छरछिमेकले उनको अवस्था देखेर मनोसामाजिक परामर्शकर्तालाई गुहारे । मनोसामाजिक परामर्शकर्ताको लगातारको काउन्सिलिङ र अस्पतालमा उपचार लिएपछि विस्तारै उनको अवस्थामा सुधार आउन थाल्यो । “अहिले केही सामान्य भएकी छु” उनले भनिन् ।

शेरबहादुर रोजगारीका लागि मलेसिया जाने क्रममा ऋण लिएका थिए । कविताले बिमा दाबी गरिन् । बिमावापत १४ लाख रुपैयाँ पाइन् ।

अघिल्लो वर्ष (२०७६ साल) हिउददेखि विश्वभरी फैलिएको कोरोना महामारीका कारण मानव जाती नै सन्त्रासमा परेको छ । नेपालमा पनि कोरोना महामारीका कारण हरेक क्षेत्र अस्तव्यस्त बनेको छ । अझ, रोजगारीका लागि भारत तथा अन्य मुलुक गएका नेपालीहरुको अवस्था झन् दयनीय बनेको छ । वैदेशिक रोजगारीमा रहेकाहरु आफ्नो तथा घरपरिवारको चिन्ताले पिरोलिएका छन् । घरमा भएका श्रीमति, आमाबुबा, छोराछोरी सहित परिवारजन दोहोरो चिन्तामा छन् । कोरोना महामारीको त्रासले घर रोजगारी गुमाएर वा छोडेर घर फर्किएकाहरुमध्ये अधिकांस बेरोजगार छन् । कतिपय घरपरिवारको कसरी लालनपालन गर्ने भन्ने चिन्ताले मानसिक रुपमै कमजोर बन्दै गएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका मनोज विक भारतमा रोजगारी गर्दथे । भारतमा कोरोना महामारी तीब्र बन्दै गयो । सरकारले लकडाउन ग¥यो । लकडाउनका कारण रोजगारी गुमेपछि मनोज घर फर्किए ।

घर फर्किएको लामो समयसम्म बेरोजगार बस्नु पर्दा उनीमा मानसिक समस्या बल्झिन थाल्यो । रिपोर्टिङका क्रममा उनको घरमा पुग्दा उनी टोलाएर बसेका थिए । केही बेरसम्म उनले कुरा गर्ने चाहेनन् । पछि विस्तारै उनले भने– मेरो सात जनाको परिवार छ । घरपरिवारको लालनपालनको जिम्मेवारी मेरै काँधमा छ । म ऋणमा चुर्लुम्म डुबेको छु । परिवार कसरी पाल्ने होला ?

उनका परिवारका एक सदस्यका अनुसार भारतबाट फर्किएको केही महिनापछि मनोज घन्टौसम्म एक्लै टोलाउन थाले । उनी आफैंसग् कुरा गर्दथे । परिवारका सदस्यहरुसंग झर्किन्थे । रातभरी सुत्दैनथे ।

मनोजलाई डाक्टरकहाँ लगियो । डाक्टरले तीन महिनाका लागि औषधी दिएका छन् । मनोजले भने– डाक्टरले तीन महिनासम्म औषधी खानु, शान्त रहनु र आराम गर्नु भन्नुभएको छ । तर, परिवार कसरी पाल्नृ भन्ने चिन्ताले छोड्दैन ।

कैलालीकै लम्कीचुहा नगरपालिकाका ४५ वर्षीय बलराम न्यौपाने रोजगारीका लागि भारतको सुरतमा गएका एि । कोराना महामारी फैलिएपछि उनी ज्यान जोगाउन रोजगारी छोडेर घर फर्किए । घर त फर्किए, तर रोजगारी छैन । आम्दानीको केही बाटो छैन । घरपरिवार कसरी पाल्ने भन्ने दिनरातको चिन्ताले उनी तनावमा रहन थाले ।

भन्छन्– घरमा आम्दानीको कुनै स्रोत छैन । छिमेकसंग ऋण सापटका लागि गुहारे, कसैले पनि पत्याएनन् । परिवार पाल्नै कठिन भयो ।

सधैं तनावमा रहन थालेपछि उनी विरामी परे । परिवारका सदस्यले उनलाई उपचारका लागि अस्पताल लगे । डाक्टरले निद्रा लाग्ने औषधी दिए । बलराम भन्छन्– गाउँमा कुनै रोजगारी पाइएन । खान लाउनको समस्या भएपछि म चिन्ताले थला परेँ । निकै बिरामी छु । डाक्टरको सल्लाहमा निद्रा लाग्ने औषधी सेवन गरिरहेको छु ।

यस्तै अवस्था टीकापुर नगरपालिकाका मानसिंह परियारको पनि छ । उनका दुई छोरा रोजगारीका लागि खाडी मुलुकमा छन् । कोरोना महामारी फैलिएर लकडाउन भएपछि मानसिंह तनावमा परे । उनको शब्दमा– लकडाउन भएपछि पाँच महिनासम्म राम्ररी सुत्नु पनि सकिन । वैदेशिक रोजगारीमा रहेका दुवै छोराको कोरोना महामारी र लकडाउनका कारण रोजगारी .गुमेपछि मेरो भोक निद्रा हरायो ।

छोराहरु विदेशमा अलपत्र झैं परेपछि मानसिंहले ऋणसापट गरेर रकम पठाएर एउटा छोरा र बुहारीलाई घर फर्काए । अर्को छोरा अहिले पनि विदेशमै छन् । उनी रोजगारमै छन् । तर, कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएपछि मानसिंहलाई छोराको चिन्ताले निकै पिरोलेको छ । विदेशमा रहेका छोराको चिन्ताले उनीमा मानसिक समस्या देखिन थालेको छ । उनी आजभोली आफैंसंग बरबराउने, खाना नखाने, नसुत्ने समस्यामा परेका छन् ।

उनी भन्छन्– मलाई अघिल्लो वर्ष चैतदेखि नै छोराहरुको चिन्ताले समस्या भइरहेको थियो । अहिले पाँच महिनादेखि निद्रा लाग्न छोडेको छ । खाना खाने मन लाग्दैन । अरुसंग कुरा गर्न झर्को लाग्छ । रिस उठ्छ ।

समस्या बढेपछि उनी डाक्टरकहाँ गए । उनले भने– डाक्टरको सल्लाहअनुसार तीन महिनासम्म औषधी सेवन गरे । अहिले अलिकति सहज भएको छ ।

विश्वभरी कोरोना महामारी फैलियो । नेपालमा पनि कोरोना फैलिएपछि गत वर्ष चैतदेखि लकडाउन भयो । करिब आठ महिनासम्म सबै क्षेत्र बन्द रह्यो । लकडाउनपछि आर्थिक, सामाजिक, पर्यटन सबै क्षेत्र अस्तव्यस्त बन्यो । यससंगै भारत तथा अन्य मुलुकमा वैदेशिक रोजगारीमा रहेकाहरुको कमाइबाट घरखर्च चलाउने परिवारका सदस्यहरु समस्यामा परेका छन् । कतिपयमा मनोसामाजिक समस्या देखिन थालेको छ ।

केही समय कोरोना महामारी स्थीर रहेकोमा अहिले फेरि कोरोना संक्रमणको दोस्रो भेरियन्ट फैलिएको छ । पछिल्ला केही सातायता नेपालमा कोरोनाको दोस्रो भेरिएन्टका कारण हाहाकारको अवस्था बनेको छ । कैलाली, कञ्चनपुरसहित नेपालका दुई दर्जन बढी जिल्लामा पूर्ण रुपमा लकडाउन शुरु गरिएको छ । भने केही जिल्लामा आंशिक रुपमा लकडाउन गरिएको छ ।

भारतसहित अन्य मुलुकमा वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा उनका परिवारजनमा मानसिक समस्या देखिन थालेपछि कैलालीमा केही मनोपरामर्शकर्ताहरुले उनीहरुलाई मनोपरामर्श सेवा दिने गरेका छन् । कैलालीमा एक संस्थामा कार्यरत लक्ष्मी चौधरीले भनिन्– हामीले एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा उनका परिवारका सदस्यहरु ८६ जनालाई मनोपरामर्श सेवा दिएका छौं । मनोपरामर्शकर्ताहरुले मनोसामाजिक समस्यामा रहेकाहरुलाई परामर्श दिने, उपचारका लागि सहयोग गर्ने गरेका छौं ।

चिकित्सकहरु मानसिक समस्यामा रहेकाहरुको समयमै व्यवस्थापन गर्न नसके भविष्यमा झन् जोखिम बढ्ने बताउँछन् । चिकित्सकहरु भन्छन्– मानसिक समस्या समयमै व्यवस्थापन गरिएन भने मानिसमा पागलपनको समस्या हुनसक्छ । आत्महत्या पनि यसकै एउतटा कारण हो ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा कार्यरत मनोचिकित्सक डाक्टर मोहन बेल्वासेले कोरोना महामारी बढेपछि समाजमा मनोसामाजिक समस्या पनि बढेको बताउँछन् । डाक्टर बेल्वासे भन्छन्– मानसिक समस्यामा रहेका व्यक्तिहरुको समयमै उपचार गरिएन भने पछि झन् जटिलता आउन सक्छ ।

उनको अनुभवमा अघिल्लो वर्षदेखि कोरोना महामारी फैलिएपछि मानसिक रुपमा अस्वस्थ व्यक्तिहरुको संख्या पनि दोब्बर बढेको छ । उनले भने– कोरोना महामारी अघि मैले दैनिक ३० को हाराहारीमा मानसिक रुपमा अस्वस्थ बिरामीको जाँच गर्दथे, कोरोना महामारी फैलिएपछि अहिले दैनिक ६० देखि ८० जनासम्म बिरामी हेर्ने गरेको छु ।

उनका अनुसार कोहलपुर मेडिकल कलेजमा बाहिरबाट रेफर गरिएका बिरामी बढी आउने गरेका छन् । उनले भने– बढिजसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अस्पतालबाट रेफर गरेर आएका बिरामी आउने गरेका छन् ।

डाक्टर बेल्वासेकाअनुसार अहिले उपचारमा आउने मानसिक रुपमा अस्वस्थ अधिकाँश विरामीमा कोरोना महामारीको असर परेको छ । कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएका, आर्थिक संकटमा परेका , बेरोजगार भएर सबैजना घरमै बस्दा अशान्ति बढेको आदि कारणले मानसिक समस्यामा बृद्धि भइरहेको छ ।

चिकित्सकहरुका अनुसार मनोसमस्या शुरुको अवस्था हो । मनका थरिथरिका विचार खेल्नु, मन सम्हाल्न नसक्नु, जीवनमा सामान्य परिवर्तन आउनु, अप्ठ्यारो महसुस हुनु मनोसमस्याका प्रारम्भिक लक्षण हुन् । यस्ता समस्या समयमै व्यवस्थापन भएनन् भने व्यक्तिलाई मानसिक रोगी बनाउँछ ।

डाक्टर बेल्वासे भन्छन्– मान्छेको मन नै सबैभन्दा ठूलो कुरा हो । यही मनले अपराध गर्छ । मनले नै माया र सद्भाव बाड्छ । त्यसैले मनमा गलत विचार र गलत सोच आउन दिनु हुदैन । उनको सुझाव छ– तनाव र समस्यालाई सामान्यरुपले व्यवस्थापन गर्ने बाटो खोज्न परिवार र समाजको साथ चाहिन्छ । त्यस्तै, मानसिक समस्याको प्रारम्भिक लक्षण देखिनासाथ रोगीलाई उपचार सेवामा ल्याउनु पर्दछ ।

कोरोना महामारीका कारण भारत तथा वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा परिवारमा मानसिक समस्यामा बृद्धि भइरहे पनि कुनै पनि तहका सरकारहरुले यसलाई गम्भीर रुपमा लिएको पाइँदैन । स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्था, अस्पतालहरुमा मनोचिकित्सकको व्यवस्था गर्न अहिलेसम्म स्थानीय सरकारहरुको ध्यान गएको देखिँदैन । स्थानीय सरकारहरुले मानसिक रोगलाई स्वास्थ्य समस्याका रुपमा नै लिएको पाइदैन ।

कैलालीको टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावल स्थानीय सरकारले मानसिक समस्यालाई स्वास्थ्य समस्याका रुपमा नबुझेका कारण नै समस्या भइरहेको बताउँछन् । ‘मानसिक समस्या पनि मानव स्वास्थ्य समस्याको जटिल अवस्था हो । यसले परिवार मात्र नभएर समाजलाई नै असर पार्छ, तर हामीकहाँ नीतिगत रुपमा कुनै काम भएको छैन’ जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक रावलले भने– हरेक स्थानीय तहमा मनोचिकित्सक वा स्वास्थ्यकर्मीलाई मनोसामाजिक तालिम दिएर सेवामा खटाउन आवश्यक भइसकेको छ ।

कोरोना महामारी फैलिएर लकडाउन भएपछि कैलालीको धनगढी त्रिनगर नाकाबाट मात्रै एक वर्षको अवधिमा एक लाख ८० हजार ९२१ नेपाली स्वदेश फर्किएको तथ्यांक छ । कैलाली जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार भारतका विभिन्न स्थानबाट कैलाली फर्किने नेपालीहरुको संख्या ५८ हजार २१८ रहेको छ ।

गत वर्ष लकडाउन खुकुलो भएपछि कैलालीको त्रिनगर तथा अन्य नाकाबाट सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका एक लाख ७४ हजार ८५ जना सुदूरपश्चिमेलीहरु पुनः भारत फर्किएका थिए ।

कोरोनाको दोस्रो भेरियन्ट फैलिएपछि भारतका विभिन्न राज्य वा शहरमा रहेका नेपालीहरु पुनः स्वदेश फर्किन थालेका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार कैलाली जिल्लाको जनसंख्या ७ लाख ७० हजार २७९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार