२३ बैशाख २०८१, आईतवार

बिरामी भेन्टिलेटर नपाएर छटपटाउँदै, सरकारको ध्यान अर्कैतिर



धनगढी । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७ का ४६ वर्षका पुरुषमा श्वासप्रश्वासको समस्या जटिल बन्दै गयो । समस्या थप जटिल बनेपछि उनलाई मंगलबार धनगढी सेती प्रादेशिक अस्पतालमा पु¥याइयो । उनलाई भेन्टिलेटरसहितको आइसियू आवश्यक थियो, तर अस्पतालमा भेन्टिलेटरसहितको बेड उपलब्ध थिएन ।

सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर उपलब्ध नभएपछि उनका भाईले उनलाई निजी अस्पतालमा लगे । तर, निजी अस्पतालमा पनि भेन्टिलेटर पाइएन । उनको अवस्था झन् जटिल बन्दै गयो । तर, उनले न त भेन्टिलेटर सेवा पाए, न अक्सिजन । त्यही क्रममा बुधबार उनको मृत्यु भयो । मृतकका भाई गणेश क्षेत्रीले अनुमोदनसंग भने– सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर थिएन । हामीले बोकेको अक्सिजन ग्यास पनि सकिँदै गयो । दाजुलाई समयमै भेन्टिलेटरमा राख्न पाएको भए सायद ज्यान जाने थिएन ।

गणेशका अनुसार उनका दाजुमा तीन दिन अघि कोरोना परिक्षण गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

सेती प्रादेशिक अस्पताल प्रशासनले अस्पतालमा पाँच वटा भेन्टिलेटर रहेको बताइरहेको छ भने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भने सेती अस्पतालमा १० वटा भेन्टिलेटर रहेको बताउदै आएको छ ।

सेती प्रादेशिक अस्पतालमा मंगलबार दुई जना बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै थियो । बुधबार थप एकजनालाई भेन्टिलेटरमा राखिएको थियो । गणेशका दाजुलाई अस्पताल पुराए पनि अस्पतालमा भेन्टिलेटर उपलब्ध नभएको भन्दै भर्ना गरिएन । उनलाई अन्य अस्पताल जान सल्लाह दिइयो । गणेशले भने– भेन्टिलेटरमा भर्ना गर्न पनि पहुँच चाहिँदो रहेछ । मैले धेरैसंग गुहार मागे, तर दाइलाई बचाउन सकिएन ।

केही दिनदेखि सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर सहितको बेड आवश्यक पर्ने बिरामीहरुको संख्या बढे पनि विरामीहरुले भर्ना पाउन सकेका छैनन ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका १२ वटा स्वास्थ्य संस्थामा गरि ३४ जना बिरामी भर्ना गर्न सकिने गरि भेन्टिलेटरको व्यवस्था रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशभरी ३४ भेन्टिलेटर रहेको दाबी गरे पनि कतिपय स्वास्थ्य संस्थामा जनशक्ति नहुँदा सञ्चालनमा छैनन भने कतिपय समयमा मर्मत सम्भार नहुँदा बन्द अवस्थामा रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले छ महिनाअघि प्रदेशको बाजुरा, डोटी, टीकापुर, अछाम, बझाङ, दार्चुला र दार्चुला अस्पतालमा दुई÷दुई वटा भेन्टिलेटर स्थापना गर्ने भन्दै उपकरणहरु जडान गरेको थियो । तर, अहिलेसम्म जनशक्ति अभाव हु“दा सञ्चालनमा आउन सकेका छैनन् ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालमा १४ वटा भेन्टिलेटर रहेको जानकारी दिए । ‘अस्पतालमा १४ वटा भेन्टिलेटर रहेका छन, तर कोभिडका बिरामीका लागि भने पाँच वटा मात्र भेन्टिलेटरको व्यवस्था गरिएको छ’ उनले भने– पाँच वटामध्ये दुई वटा बिग्रेकोले अहिले तीन वटामात्र सञ्चालनमा रहेका छन ।’ उनले प्रदेश सरकारलाई यसबारे जानकारी गराइएको भए पनि अहिलेसम्म मर्मत हुन नसकेको बताए ।

उनले कोभिडका विरामीलाई सकेसम्म आइसियूमै राखेर उपचार गरिने गरेको बताए । उनले भने– सकभर आइसियूमै उपचार गरिरहेका छौं । अवस्था एकदमै जटिल भएमात्र भेन्टिलेटरमा राखिन्छ । अहिलेसम्म भेन्टिलेटर नपाएर कतिलाई फर्काइयो भन्ने अभिलेख छैन ।’

कोभिड–१९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङ, बाजुरा, बैतडी लगायतका स्वास्थ्य संस्थामा जडान गरिएका भेन्टिलेटरहरु अहिलेसम्म सञ्चालन हुन सकेका छैनन् ।

बझाङमा सञ्चालनमा ल्याइएका आइसियु र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द छन् । आइसियु र भेन्टिलेटर सेवा सञ्चालनमा नआउँदा अस्पतालले जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर पठाउनु पर्ने बाध्यता रहेका जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

शुक्रबारसम्म सुदूरपश्चिम प्रदेशका चार वटा स्वास्थ्य संस्थामा नौ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ । सेती प्रादेशिक, डडेल्धुरा अस्पतालमा तीन÷तीन, महाकाली अस्पतालमा दुई र जिल्ला अस्पताल दार्चुलामा एक जनाको उपचार भइरहेको जनाइएको छ ।

आवश्यकता भेन्टिलेटरको, सरकार एमआरआईको ध्यानमा

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमित बढ्दै जाँदा भेन्टिलेटर र अक्सिजन अभाव बढेको छ । कोरोना भाइरस संक्रमितहरु भेन्टिलेटर र अक्सिजनको अभावले थप पीडामा छन् । तर, सुदूरपश्चिम प्रदेश सरकार भने एमआरआई खरिदमा रमाइरहेको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि एमआरआई खरिद प्रक्रिया अघि बढाएको छ ।

प्रदेश सरकारले यहि १४ गते एमआरआइका लागि बोलपत्र आह्वान गरिसकेको छ । प्रदेश सरकारको ११ करोड ९९ लाख रुपैया अन्य स्रोतबाट दुई करोड गरी १४ करोड रुपैयाको लागतमा एमआरआई उपकरण खरिदको तयारी थालेको छ । सेती प्रादेशिक अस्पतालले १३ करोड ३२ लाख रुपैयाँमा एमआरआई उपकरण जडानका लागि बोलपत्र आह्वान गरेको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले भने– कोरोना महामारी शुरु भएदेखि नै प्रदेश सरकारले यसको नियन्त्रण र संक्रमितको उपचारमा सबैभन्दा बढी ध्यान दिनु पर्ने थियो, तर सरकारको ध्यान अन्यत्र छ ।

तीन कर्मचारीले अहिले एमआरआई भन्दा पनि आइसियू, भेन्टिलेटर, अक्सिजन ग्याँस लगायतको व्यवस्थामा ध्यान दिनु पर्ने बताए ।

प्रदेशका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा मात्रै अक्सिजन उत्पादन गर्ने यूनिट छ । अन्य अस्पतालहरुमा यूनिट जडान गर्नतर्फ सरकारी पक्षले समयमै ध्यान दिन नसकेको भन्दै आलोचना हुन थालेको छ ।

कञ्चनपुरको महेन्द्रनगरका ३३ वर्षिय युवा १० गते सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल भर्ना भए । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई अक्सिजन सिलिण्डरको आवश्यक परेको थियो । सेती प्रादेशिक अस्पतालमा सिलिण्डर नभएपछि आफै व्यवस्थापन गर्न अस्पतालले सुझाव दिएको थियो । ती युवकका आफन्तले भने– अस्पतालमा अक्सिजन सिलिण्डर छैन भने आफैले धेरै ठाउँ खोजे कतै पाएन । अहिले अस्पतालभित्रै रहेको अक्सिजन प्लान्टको प्रयोग गरि उपचार भइरहेको छ । चिकित्सकहरुले अहिले सिलिण्डर आवश्यक नभएको प्रतिक्रिया दिएका छन ।’

सेती प्रादेशिक अस्पतालमा रहेको अक्सीजन प्लान्टबाट भने माग अनुसार पूर्ति गर्न नसकिएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनले भने– ‘यहाँ रहेको अक्सिजन प्लान्टको क्षमता भनेको ४७ किलोको प्रति दिन ७५ सिलिण्डर उत्पादन गर्छ । तर, अहिलेको अवस्थामा एक सय ५० भन्दा बढी सिलिण्डर प्रयोग भइरहेको छ । यसका लागि हामीले ७० भन्दा बढी सिलिण्डर खरिद गरेर प्रयोगमा ल्याइरहेका छौं ।’

सेती प्रादेशिक अस्पतालमा आउने जटिल खालका विरामीहरुलाई अहिले भेन्टिलेटर र अक्सिजन ग्याँस अभाव हुने गरेको गुनासो बढीरहे पनि सुदूरपश्चिम प्रदेश सरकारले पहल गर्न सकेको छैन ।

महाकाली अस्पतालमा कोभिड संक्रमणका बिरामीहरु बढेपछि अक्सिजनको अभाव हुन थालेको अस्पतालले जनाएको छ । महाकाली अस्पतालमा दैनिक १५ सिलिण्डर अक्सिजन खपत हुने गरेकोमा अस्पतालमा हाल ५ सिलिण्डर अक्सिजन मात्रै उत्पादन गर्ने यूनिट रहेको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बताए । उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यता अनुसार अक्सिजन दिन नसकेको बताए । ‘आवश्यकता अनुसार आपुर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि अक्सिजन मगाएका छौँ’, डाक्टर रोकायाले भने, ‘संक्रमण बढदै जाँदा व्यवस्थापनको निकै समस्या भएको छ ।’ ५० शैयाको कोभिड अस्पताल, कञ्चनपुरमा कोभिड बिरामी भरिभराउ रहेकोले समस्या उत्पन्न भएको डाक्टर रोकायाले बताए ।

डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जगदिशचन्द्र विष्टले अस्पतालले प्रतिदिन २७ सिलिण्डर उत्पादन गरिरहेको बताए । ‘अहिले अस्पतालमा १६ विरामी छन । हामीले ११ विरामीलाई मात्र अक्सिजन उपलब्ध गराउन सकेका छौं’ उनले भने– अस्पतालमा अक्सिजन अभाव हुँदा विरामीहरुलाई अक्सिजन सेवा दिन सकिएको छैन ।’ उनले प्लान्ट थप्न पनि एक÷दुई महिना लाग्ने र बजारमा पनि सिलिण्डर नहुँदा कुनै पनि विकल्प नभएको बताए । उनले अहिले सिलिण्डर पनि फिलिङ पनि गर्न नसकिएको बताए ।

टीकापुर प्रादेशिक अस्पतालमा अक्सिजनसहितको २० श्ययाको अक्सिजन जडानसहितको आइसोलेशन वार्ड तयार गरिएको छ । कोरोना भाइरसका बिरामी बढ्न थालेसँगै अस्पतालले आफ्नो तयारीलाई तीव्ररुपमा अगाडि बढाएको हो । अस्पतालले पहिले पनि आइसोलेशन बनाएको भए पनि संक्रमण दर कम भएपछि हटाएको थियो । संक्रमणस्थित भन्दा बाहिर गइसकेको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राइले अस्पतालको क्षमता अनुसार तयारी पूरा गरिएको बताए ।

‘हामीसँग पर्याप्त जनशक्ति पनि छैन । प्रविधि भए पनि सञ्चालनका लागि जनशक्ति नहुँदा समस्या भएको छ’ मेडिकल सुपरिटेन्डेन्ट राइले भने, ‘कोरोना परीक्षण नहुँदा मात्रै हामीलाई सामान्य लागेको छ । परीक्षण हुने हो भने कोही पनि अछुतो रहने अवस्था छैन ।’

अस्पतालमा बेड कम, बिरामी बढी

सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोभिड–१९ अस्पतालमा ५५ बेड रहेका छन् । सो अस्पतालमा अहिले ५७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा क्षमताभन्दा बढी संक्रमित भर्ना भएपछि अस्पतालको ग्यालेरीमा राखेर भए पनि व्यवस्थापन गरिएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेड र अक्सिजनको अभाव हुन लागेको छ । अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठका अनुसार शुक्रबारसम्म अस्पतालमा तीन जना भेन्टिलेटरमा, नौ जना आइसियूमा र ३५ जनालाई अक्सिजनको सर्पोट तथा १० जना मध्यम उपचारमा रहेका छन । टीकापुर अस्पतालमा दुई जना संक्रमितको उपचार भइरहेको छ ।

महाकाली प्रादेशिक अस्पतालमा ४४ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये पाँच जना आइसियू, दुई जना भेन्टिलेटरमा रहेका छन ।

डडेल्धुरा अस्पतालमा १५ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये आठ जना आइसियू र तीन जना भेन्टिलेटरमा रहेका छन ।

प्रदेशभरी शुक्रबारसम्म एक सय ३७ जना विभिन्न स्वास्थ्य संस्थामा उपचाररत रहेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार