३ जेष्ठ २०८१, बिहीबार

ल्याबका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्



बैतडी । कोरोनाको पहिलो कहरदेखि दोस्रो लहरसम्म दैनिक ९ घण्टा पिपिइसेट लगाएर ल्याबमा कोरोना भाइरस परीक्षण गर्ने स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन सकेका छैनन् ।

जिल्ला अस्पताल बैतडीमा गतवर्षको भदौदेखि सञ्चालनमा आएको कोरोना परीक्षण ल्याबमाकाम गर्ने स्वास्थ्यकर्मीले हालसम्म पनि जोखिम भत्ता नपाएको गुनासो गरे ।

कोरोनाको दोस्रो लहर फैलिएपछि दैनिक एक सय जनाभन्दा बढीको स्वाब सङ्कलन गरेर ल्याबका स्वास्थ्यकर्मी दैनिक नौ घण्टादेखि १० घण्टासम्म कामगर्दै आईरहेका छन ।

“जनशक्ति अभावमा पालो दिने मान्छे पनि छैन । अधिकाशं लक्षणसहितका बिरामीको स्वाब लिएर परीक्षण गरिरहेका छौं,” जिल्ला अस्पताल बैतडीका ल्याब प्रमुख श्यामराज जोशीले भने, “तर, गतवर्षको भदौदेखि पाउनु पर्ने जोखिम भत्ता अहिलेसम्म मिलेको छैन ।”

जिल्ला अस्पताल बैतडीको ल्याबमा दुई जना मेडिकल ल्याब टेक्नोलोजिष्ट र दुई जनाल्याब टेक्नेसियन गरेर चार जना स्वास्थ्यकर्मी रहेका छन् ।

राति ९ बजेसम्म पनि ल्याबमा काम गर्नुपर्ने अवस्था रहेको बताउँदै ल्याब प्रमुख जोशीले भने– कम गर्दा पालो दिने जनशक्ति पनि छैन । कोरोना महामारी झन भयाबह बन्दै गईरहेको छ ।

जोखिम मोलेर काम गर्दै आईरहेका स्वास्थ्यकर्मीलाई सरकारले तलबको १० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरे पनि ल्याबमै काम गर्ने स्वास्थ्यकर्मीले भत्ता पाउन सकेका छैनन् ।

गत वर्षदेखि हालसम्म काम गरेको एक जना स्वास्थ्यकर्मीले करिब तीन लाख रुपियाँका दरले जोखिम भत्ता पाउँन बाँकी रहेको ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

कोरोनाको दोस्रो लहर फैलिएपछि करिब १२ जना स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमित बनेको स्वास्थ्यकार्यालय बैतडीले जानकारी दिएको छ । त्यसमाथि थप जिल्लाभरिका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो आइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार