३ जेष्ठ २०८१, बिहीबार

गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउने सीसीएमसीको निर्णय



धनगढी । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले कोरोना संक्रमितका लागि कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउन निर्णय गरेको छ । सिंहदरवारमा आज बसेको सीसीएमसीको बैठकले गेटा मेडिकल कलेजको निर्माण सम्पन्न भएको मुख्य भवनलाई आईसोलेसन बनाउन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई निर्देशन दिएको हो ।

कैलालीको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सीसीएमसीको आज बसेको बैठकले गेटा मेडिकल कलेजको मुख्य भवनलाई आईसोलेसन बनाउन निर्देशन दिएको पश्चिम टुडेलाई जानकारी दिए । सीसीएमसीको निर्देशन अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र को मातहतमा रहने गरी सञ्चालन गरिने आईसोलेसनको स्थापना र व्यवस्थापनमा नेपाली सेना परिचालन गरिनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा दुई दिन अघि शिक्षा मन्त्रालयले गेटा मेडिकललाई आईसोलेसन सञ्चालनका लागि अनुमती दिने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयको उक्त निर्णयपछि आज बसेको सीसीएमसीको बैठकले गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार