१ जेष्ठ २०८१, मंगलवार

सरकारले अस्पतालमा ‘बेड छैन’ भन्‍नु लाचारी र लज्जास्पद : कांग्रेस



काठमाडाैं- नेपाली कांग्रेसले महामारीका बेला सरकारले अस्पतालमा ‘बेड छैन’ भन्‍नु लाचारी र लज्जास्पद भएको भन्दै सरकारको आलोचना गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै युद्धस्तरमा समाधान खोज्‍न सरकारसँग माग गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्नेगरी बढेको भन्दै सरकारले अब अस्पतालहरुमा बेड उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको थियो। त्यसको प्रतिक्रियास्वरुप कांग्रेसले आज विज्ञप्ति जारी गरेको हो। 

‘प्रधानमन्त्रीज्यू, संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्छ। ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद! युद्धस्तरमा समाधान खोजौं!,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपिल गर्नु स्वाभाविक र आवश्यक हो। तर संकटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ।’

‘अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारीसँगै गैरजिम्मेवार प्रवृत्ति पुष्टि गरेको कांग्रेसको भनाइ छ। यसलाई कांग्रेसले ‘इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार’ भएको आरोप लगाएको छ।

‘पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद् विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने? इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार हो यो। यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न। नेपाली कांग्रेस लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुने उल्लेख गर्दै कांग्रेसले बेड अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा नहुने बताएको छ।

‘बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो? संक्रमणको विस्तार कुन हदसम्म हुन सक्दछ भन्ने वज्ञ अनुमान र विश्लेषण छ? त्यो हद सामना गर्न बेड लगायतको विस्तारमा सरकारसँग बजेट, पूर्वाधार या इच्छाशक्ति के अभाव छ? निजी क्षेत्रका अस्पतालहरुलाई कोरोनाविरुद्धको संघर्षमा बृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने? राजनीतिक दलहरु, संघसंस्था र समाजसँग सरकारले गरेको सहयोग अपेक्षा के हो? फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने? खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति तीव्रतर छ?,’ सरकारलाई कांग्रेसको प्रश्न छ। 

यी समग्र विषयमा सरकार प्रस्ट, पारदर्शी, योजनाबद्ध र दृढ़ ढंगले प्रस्तुत हुन जरुरी रहेकोप्रति कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार