१७ बैशाख २०८१, सोमबार

प्रदेशसभा सदस्य भट्टद्वारा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण



बैतडी । सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टले एम्बुलेन्सविहीन बैतडीको दुर्गम शिवनाथ गाउँपालिकालाई एम्वुलेन्स हस्तान्तरण गरेका छन ।

प्रदेशसभा सदस्य भट्टले वितरण गर्न पाउने प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तरगतको रकमले एम्बुलेन्स खरिद गरेर शिवनाथ गाउँपालिकालाई हस्तान्तरण गरेका हुन ।

स्वास्थ्य कार्यालय बैतडीमार्फत खरिद गरिएको एम्बुलेन्समा अक्सिजनसहितको सुविधायुक्त छुट्टै क्याभिन रहेको छ । ११ लाख ५० हजार मूल्यमा खरिद गरिएको एम्बुलेन्समा बिरामी बोक्ने छुट्टै क्याभिन रहेको छ ।

एम्बुलेन्समा छुट्टै क्याभिन भएकोले कोरोना सङ्क्रमित बिरामी बोक्दा चालक र बिरामीको प्रत्यक्ष सम्पर्क नहुने भएकोले एम्बुलेन्स सुरक्षित रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

विहीबार स्वास्थ्य कार्यालय बैतडीमार्फत हस्तान्तरण गरिएको एम्बुलेन्स लिन शिवनाथ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बैतडी सदरमुकाम पुगेका थिए । कोरोना भाइरसको सङ्क्रमण तिव्ररुपमा बढीरहेको बेला गाउँपालिकाले सुविधायुक्त एम्बुलेन्स पाएकोमा खुसी लागेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए ।

शिवनाथ गाउँपालिकाले एम्बुलेन्स प्राप्त गरेपछि बैतडीमा एम्बुलेन्स सेवा हुने स्थानीय तहको संख्या सात पुगेको छ । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरेर १० स्थानीय तह रहेका छन् ।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मैलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, डिलासैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाले यसअघिनै एम्बुलेन्स सेवा सञ्चालन गरिसकेका छन् । पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिका एम्बुलेन्स सेवा छैन ।

कोरोनाका बिरामीलाई सार्वजनिक सवारी साधनले सितिमित बोक्न नमान्ने समस्या रहेको बेला स्थानीय तहको आफ्नै एम्बुलेन्स भएपछि आपत्कालीन सेवा दिन सहज हुने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार