१६ मंसिर २०८०, शनिबार

भारतमा रहेका नेपाली भन्छन्–‘रोग भन्दा भोकको जोखिम बढ्यो’



धनगढी । भारतमा यतिवेला कोरोना संक्रमण तिब्र गतिमा फैलि रहेको छ । दैनिक तीन लाख बढी नागरिकमा कोरोना संक्रमण बढ्दै जाँदा रोजगारीका लागि भारत गएका नेपाली दोहोरो समस्यामा पर्न थालेका छन् ।

भारतमा रहेका नेपालीका अनुसार एकातिर नेपाली नागरिक कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् भने अर्को तर्फ खाने बस्ने व्यवस्था नहुँदा अलपत्र पर्ने गरेका छन् ।
भारत स्थित सुदूरपश्चिमेली श्रमिकका अनुसार अहिले रोग संगै भोकको पनि नेपाली नागरिकदाई त्यतिकै समस्या हुन थालेको छ । ‘यहाँका श्रमिक नेपालीहरु धमाधम बेरोजगार भइरहेका छन्’ सुदूरपश्चिमेली प्रवासी संघ भारतका लागि तामिललाडुका सचिव ललित भण्डारीले भने–‘बेरोजगार भएकाहरु घर फर्कन सकिरहेका छैनन् उतै बस्दा न बस्ने व्यवस्था छ, नत खाने व्यवस्था नैं ।’
उनका अनुसार कोरोना नियन्त्रण गर्न भारत सकारले धमाधम लकडाउन गर्न थालेपछि भारतमा हजारौं नेपाली विचललीमा पर्न थालेका छन् । ‘हाम्रै संगठन संग आबद्ध भएका धेरै नेपाली अहिले वेरोजगार भएका छन्’ उनले भने–‘त्यसरी बेरोजगार भएका मध्य धेरैलाई खान बस्न समस्या भएको छ, पायक भएकालाई संगठनले व्यवस्थापन गरेपनि सवैलाई समेटन् सकिने अवस्था छैन ।’
कोरोनाका कारण नेपालीको मृत्यु भएको भन्ने खबर आएपनि संख्या एकिन गर्न भने समस्या भएको उनले बताए । अहिले कति नागरिक संक्रमित छन्, कतिले ज्यान गुमाए भन्ने कुनै तथ्याङ्क छैन’ उनले भने–‘ठाउँठाउँबाट मृत्युका खबर आइरहेका छन् ।’
केराला स्थित बैङ्गलोरमा रहेका आनन्द जोशीका अनुसार भारतमा कोरोना संक्रमण उच्च हुँदैजाँदा आसपासका सयौं नेपालीको विचल्ली भएको छ । ‘कोरोना नियन्त्रण गर्न राज्य सरकारले जारी गरेको लकडाउनका कारण हजारौं नेपाली बेरोज्गार भएका छन्’ उनले भने–‘त्यसरी बेरोजगार भएकाहरुनै रोगका सिकार भएका छन् भने भोकले पनि छटपटाउन थालेका छन् ।’
समस्यामा परेका नेपालीलाई नेपाली दुतावासले वेवास्ता गरेको उनको आरोप छ । ‘दुतावासलाई फोन गर्दा कहिल्यै उठ्दैन’ उनले भने–‘सामाजिक सञ्चालमा सम्पर्क गर्दा कहिल्यैं प्रतिक्रिया आउँदैन ।’
सुदूरपश्चिम प्रवासी संघ भारत अन्तरगत तामिललाडुका अध्यक्ष पदमप्रसाद भट्टका अनुसार अहिले रोग भन्दा भोकका कारण भारतमा रहेका नेपाली बढी समस्यामा पर्न थालेका छन् । एक साता अघि सम्म बेरोजगार भएका नेपाली स्वदेश फकर्ने गरेका भएपनि अहिले सजिलै स्वदेश फर्कने अवस्था समेत नरहेको उनले बताए ।
‘ठाउँठामा जारी गरिएको लकडाउन र कफ्र्यूका कारण अहिले पहिला जस्तो सजिलै नेपाल फर्कन सक्ने अवस्था छैन’ अध्यक्ष भट्टले भने–‘यतै बसेर सवैलाई बस्ने र खाने व्यवस्था छैन, भोकले छटपटाउनुपर्ने अवस्था आएको छ ।’ अलपत्र परेका नेपालीलाई सहयोग गर्ने योजना संघले बनाएपनि कफ्र्यू र लकडाउनका कारण आवत जावतमा समस्या भएको उनले बताए ।
भारत स्थित नेपाली दुतावास भने नेपाली प्रति गैर जिम्मेवार बनेको उनको पनि आरोप छ । ‘सामान्य अवस्थामा दुतावसका कर्मचारी र नेपाली श्रमिक आबद्ध संगठनका पदाधिकारी विच भर्चुअल संवाद हुने गरेको थियो’ उनले भने–‘कोरोना बढेपछि संवाद समेत हुन छोडेको छ, नत फोननै उठ्छ ।’
भारतमा अलपत्र परेका नेपालीलाई सुरक्षित नेपाल पठाउने व्यवस्था मिलाउन सके धेरै नेपालीलाई सहज हुन सक्ने अध्यक्ष भट्टले बताए । ‘हामीले दुतावासलाई ठाउँको ठाउँ खान खुवाउनुपर्छ भनेका छैनौं’ उनले भने–‘समस्यामा परेकालाई आवश्वयक समन्वय गरेर नेपाल सम्म पुर्याउने व्यवस्था गरे पुगने थियो, तर दुतावास आफ्ना नागरिक प्रति जिम्मेवार नै छैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार