१७ बैशाख २०८१, सोमबार

कोरोना कहर : भारतबाट धमाधम फर्किदै नेपालीहरू, संक्रमितको संख्या पनि उत्तिकै



धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ का विरेन्द्र चौधरी छ महिनाअघि रोजगारीका लागि भारत गए । उनी यसअघि पनि रोजगारीका लागि भारत जाने गर्दथे ।

भारतमा कोरोनाको दोस्रो लहरले उग्र रुप लिएपछि उनी बेरोजगार बने । बाध्य भएर उनी घर फर्किए । सोमबार गौरिफण्टा सिमानाकाबाट फर्किदै गरेका उनले अनुमोदन दैनिकसंग भने– अब छ महिनाजति घरमै बस्छु । अघिल्लो वर्ष भारतमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि त्यहाको सरकारले लकडाउन गरेपछि उनी घर फर्किएका थिए ।

अहिले भारत सहित विश्वका केही मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको छ । भारतमा दैनिक तीन लाखको हाराहारीमा कोरोनाका नया“ संक्रमित थपिने क्रम जारी छ । दिनहु दुई हजारको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ । भारतमा कोरोना महामारीले विकराल रुप लिएपछि वीरेन्द्र जस्तै अधिकांस नेपालीको रोजगारी गुम्यो । अहिले कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाहुँदै दैनिक ठूलो संख्यामा नेपालीहरू घर फर्किरहेका छन् । सिमानाकाबाट भित्र प्रवेश गर्दै गर्दा वीरेन्द्रले भने– भारतमा अहिले काम पनि छैन । यता घरमा खेतीपाती पनि गर्नु छ । त्यही भएर फर्के ।

उनी भारतको गुजरातमा माछा सेक्ने लगायतका काम गर्दथे । उनीसंग एउटा सानो घर र थोरै खेतबारी छ । खेतीबाट खानलाई ठिक्क हुन्छ । “घरको अरु खर्च चलाउन भारतमा काम गर्न जानै पर्ने बाध्यता छ” उनले भने– हाम्रो सरकारले रोजगारीको कुनै अवसर नै दिन सकेको छैन । त्यै भएर परिवार पाल्न भारतमा रोजगारी गर्न त जानै पर्‍यो ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ का तेज जगहरा रोजगारीका लागि दुई महिनाअघि भारत गएका थिए । भारतमा कोरोना महामारी फैलिएपछि उनी पनि बेरोजगार भए । उनी भारतको बैंग्लोरमा एउटा होटलमा काम गर्दथे । कोरोना महामारी फैलिएपछि उनी काम गर्ने होटल बन्द भयो । बाध्य भएर उनले घर फर्किने निधो गरे । सोमबार अरु नेपालीहरूसंग घर फर्किएका थिए । गौरिफन्टा नाकाबाट भित्र आउदै गर्दा अनुमोदनसंगको संक्षिप्त कुराकानीमा उनले भने– काम गर्ने होटल बन्द भयो । अरु कुनै काम थिएन । त्यही बसिराखु भने दुई छाक खानाको जोहो गर्न पनि गाह्रो हुने भएपछि घर फर्किने निधो गरे ।

उनले थपे– भारतमा कोरोना डरलाग्दो ढंगले बढेको छ । म उतै बसु भने यता घरपरिवार पनि चिन्तामा पर्ने । फेरि खेतीबारी लगाउने समय पनि भयो । त्यसैले घर फर्के ।

वीरेन्द्र र तेज झैं भारतबाट पछिल्ला केही दिनयता गौरिफण्टा नाका हुदै दैनिक ठूलो संख्यामा नेपालीहरू घर फर्किरहेका छन्् । उनीहरू प्रायःले रोजगारी गुमाएका छन्् । भारतमा दोस्रो लहरको कोरोना महामारी भयावह बन्दै गएपछि सरकारले केही राज्य तथा शहरमा निषेधाज्ञा तथा लकडाउन जारी गरेको छ ।

गत चैत ३ (२०७७ साल) देखि सोमबारसम्म ४१ दिनको अवधिमा गौरिफन्टा नाका हुँदै २७ हजार बढी नेपाली घर फर्किएको तथ्यांकले देखाएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देनालयका अनुसार भारतबाट फर्किएका नेपालीहरूमध्ये हालसम्म १८ हजार जना भन्दा बढीको एन्टीजेन परीक्षण गरिएको छ । भने हालसम्म एक हजार बढीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

भारतका विभिन्न शहर तथा स्थानबाट दैनिक नेपालीहरू फर्किन थालेपछि स्थानीय प्रशासनहरूेले थप कडाई गर्न थालेको छ । गत चैत ३ गतेदेखि सिमानाकामा स्वास्थ्य परीक्षण शुरु रिएको छ । तर सिमानाकाबाट प्रवेश गरेका अधिकांस नेपालीहरू कोरोना परीक्षणको दायरामा आउन सकेका छैनन् । नाकामा फितलो सुरक्षा भएका कारण स्थानीय प्रशासनले मंगलबारदेखि भारतका बढी जोखिम क्षेत्रबाट आएका नेपालीहरूको अनिबार्य एन्टीजेन परीक्षण गरेर मात्र नेपाल प्रवेश गराउन निर्देशन दिएको छ ।

सिमानाकाबाट निर्वाध रुपमा सामान खरिद गर्न जाने कैलाली र कञ्चनपुरका स्थानीयलाई पनि भारत प्रवेशमा निषेध गरिएको छ । स्थानीय प्रशासनले ‘अत्यावश्यक कामबाहेक भारतमा नजान’ स्थानीयहरूसंग आग्रह गरेको छ ।

यसैबीच, सोमबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका मध्ये एक सय चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउ“दका अनुसार सो नाका भएर आइतबार सात सय जना भित्रिएका छन् । तीमध्ये छ सय ८० जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा एक सय चार जनामा संक्रमण पुस्टि भएको उनले बताए ।

नाकामा भेटिएका संक्रमितहरूलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ ।

भारतीय नागरिकको पिसिआर रिपोर्ट अनिवार्य गरियो

कैलालीमा उपचारका लागि आउने भारतीय नागरिकहरूले अनिवार्य रुपमा पिसिआर रिपोर्ट देखाए मात्र नेपाल प्रवेश गर्न पाउने प्रबन्ध गरिएको छ ।

कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयहरूले कैलालीमा उपचारका लािग आउने भारतीय नागरिकहरूले अनिवार्य पिसिआर रिपोर्ट प्रस्तुत गर्नुपर्ने निर्देशन दिएको छ । प्रशासनको निर्देशनपछि सुरक्षाकर्मीहरूले सिमानाकामा थप कडाई गरेका छन्् ।

सोमबार दिउँसो ३ बजे भारतका विभिन्न स्थानबाट ५० बढी भारतीय नागरिकहरू उपचारका लागि धनगढी प्रवेश गरिरहेका थिए । त्यहाँस्थित सुरक्षाकर्मीले पिसिआर रिपोर्ट मागेपछि उनीहरूले खोप कार्ड देखाएका थिए । खोप कार्डलाई आधार नमान्ने भन्दै उनीहरूलाई सुरक्षाकर्मीहरूले फर्काएका थिए ।

विशेषतः भारतका विभिन्न स्थानबाट भारतीयहरू गेटा आ“खा अस्पतालमा आ“खा उपचार गराउन आउने गरेका छन् । कैलाली प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने– गेटा आ“खा अस्पतालमा धमाधम भारतीयहरू विना परीक्षण आउ“दा कोरोनाको जोखिम बढ्यो ।

प्रमुख जिल्ला अधिकारी रिजालले आइतबारमात्र गेटा आँखा अस्पतालमा आ“खा परीक्षण गर्न आएका एक भारतीयमा कोरोना संक्रमण देखिएको बताए ।

उनले भने– ७२ घण्टाभित्र पिसिआर चेकजाँच गरि रिपोर्ट देखाउने भारतीयलाई मात्र नाकाबाट प्रवेश गराइने छ ।

त्यस्तै, अन्तर जिल्ला संकट व्यवस्थापन केन्द्रले भारतबाट प्रवेश गर्ने नेपालीहरूलाई रोक नलगाउने तर, उनीहरूको एन्टीजेन परीक्षण गरेरमात्र प्रवेश गराउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले भने– भारतमा काम गरिरहेका सुदूरपश्चिमबासीलाई स्वदेश फर्कन कुनै रोक लगाइएको छैन । बरु, उनीहरू फर्केको स्थानका आधारमा सामान्य सोधपुछर एन्टीजेन परीक्षण गरि प्रवेश गराइने छ ।’ उनले एन्टीजेनमा कोरोना पुष्टि भएकालाई आइसोलेसनमा राख्ने र उनीहरूको पिसिआर परीक्षण गर्ने व्यवस्था गरिएको बताए ।

उनले स्वदेशबाट भारत जाने सुदूरपश्चिमबासीलाई भने रोक लगाइएको बताए । उनले भने– अत्यावश्यक कामबाहेक कुनै पनि नेपालीलाई नाकाबाट भारत जान दिइने छैन ।’ उनका अनुसार विरामीको उपचारबाहेक अन्य सामान किनमेल, भेटघाट, रोजगारी लगायतका लागि भारत प्रवेश गर्न दिइने छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार