५ कार्तिक २०८१, सोमबार

वडाका कारण जग्गाधनी पुर्जा पाउन कठिनाई



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का लालबहादुर थापा २०६७ सालदेखि सोही वडाको विजयनगरमा बसोवास गर्दै आएका छन् । उनले ऐलानी चार कठ्ठा जमिन खरिद गरेर बसोबास गर्दै आएका छन् । तर, उनले हालसम्म जग्गाधनी पूर्जा (लालपुर्जा) पाउन सकेका छैनन् ।

भूमि सम्बन्धी समस्या समाधान गर्न गठित आयोगले अव्यवस्थित तथा सुकुम्वासीहरूको तथ्यांक संकलन गर्न थालेपछि लालबहादुरलाई पनि जग्गाको पुर्जा पाउने आशा जाग्यो । १० वर्षदेखि सोही स्थानमा बसोबास गर्दै आएका उनलाई जग्गाधनी पूर्जा प्राप्तीका लागि निवेदन पेश गर्न खासै समस्या नभए पनि वडाका कारण हाल उनि अन्यौलमा परेका छन् ।

वडा कार्यालयले उनको जग्गामा दुई जना दाजुभाईको हक दावी परेका कारण निवेदन दर्ता नगरिएको जनाएको छ । ‘हाल लालबहादुर बसेको जग्गामा उनकै भाई लक्ष्मण थापाले पनि हकदावी गरेका छन्’ वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्टले भने– त्यस्तो अवस्थामा जग्गाधनीको निवेदन दर्ता नगर्न आयोगले भनेको छ । सोही आधारमा हामीले विवादित जग्गाको निवेदन दर्ता गर्न रोकेका हौं ।

तर भूमि सम्बन्धी समस्या समाधान गर्न गठित आयोगको निर्देशिकामा भने जग्गाको विवाद हु“दा स्थानीयलाई साक्षी बनाएर भोगचलनका आधारमा जग्गधनी पूर्जाका लागि सिफारिस दिन सकिने उल्लेख छ । ‘जग्गाको लगत संकलन गर्दा विवाद देखिएमा स्थानीय नागरिकको रोहबरमा वडा कार्यालयले भोगचलन गर्ने व्यक्तिको नाममा सिफारिस दिन सक्ने व्यवस्था छ’ भूमि सम्बन्धी समस्या समाधान गर्न बनेको आयोग कैलालीका कर्मचारी नन्दलाल पाण्डेले भने– तर विवाद देखाएर आयोगमा निवेदन दर्ता गर्ने अवसरबाट जनतालाई वञ्चित गर्न आयोगले रोक लगाएको छैन । जग्गाको फैसला अदालतले गर्दै गर्छ ।

गोदावरी नगरपालिकाका स्थानीयले भने जग्गाको विवाद देखाएर वडा कार्यालयले अव्यवस्थित बसोवास गरिरहेका धेरै जनाको सिफारिस गर्न रोक लगाएको आरोप लगाएका छन् । ‘वडा कार्यालयमा कसैले जग्गाको हक अधिकार छ भनेर उजुरी दिने वित्तिकै वडा कार्यालयले त्यस्ता व्यक्तिको फाइल रोक्ने गरेको छ’ गोदावरी नगरपालिका वडा नम्बर १ का स्थानीय तारा भट्टले भने– विवाद भएको जग्गा कसको हो भनेर जनप्रतिनिधीले सोधपुछ समेत गर्दैनन् ।

वडा कार्यालयको वेवास्ताका कारण धेरै नागरिकले जग्गामा हकदाबी देखाएर नागरिकलाई पुर्जा प्राप्त गर्नबाट रोक लगाउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार