१७ बैशाख २०८१, सोमबार

कोरोना रोकथाम प्रयास : विद्यालयहरू दश दिन बन्द गर्न आग्रह



धनगढी । कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लाका विद्यालयहरू दश दिन बन्द गर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट ब्यवस्थापन समितिको आइतबारको बैठकले कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।


सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्ने समेत जनाएको छ । कोरोनाको अवस्थालाई हेरेर आगामी १० दिन पछि सबै विद्यार्थीहरूको परीक्षा गर्न सकिने समेत जनाएको छ । बैठकमा जिल्लाका सबै स्थानिय तहका जनप्रतिनिधीको सहभागिता रहेको थियो ।
धनगढीको ऐश्वर्य विद्या निकेतन एक साताका लागि बन्द हुने भएको छ । विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि ऐश्वर्य विद्या निकेतन सोमबारबाट एक हप्ताका लागि बन्द हुने विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले जानकारी दिए ।

उनका अनुसार कक्षा ११ र १२ को भने स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन गरिने जानकारी दिए ।

यसैबीच, कञ्चनपुरमा एक जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको महेन्द्रनगरमा रहेको भृकुटी माविका एक जना शिक्षकमा कोरोना संक्रमण देखा परेको जनाइएको छ ।

विद्यालयमा शिक्षकको प्रत्यक्ष सम्पर्कमा आएका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले विद्यालय बन्द गरिएको निमित्त प्रधानाध्यापक वीरेन्द्र प्रसाद भट्टले बताए । विद्यार्थीहरूमा संक्रमण फैलिन सक्ने भन्दै अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द भएको निमित्त प्रधानाध्यापक भट्टले जानकारी दिए ।

त्यस्तै, बैतडीको मेलौली नगरपालिकाका विद्यालय बैशाख १४ गते सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

आईतबार बसेको नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले नगरपालिका क्षेत्रका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले बिषम परिस्थिति सिर्जना नभएमा कक्षा ८ र ११ बाहेकका परिक्षा बैसाख १५ गते देखि संचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको बैठकपछि जारी गरिएको सूचनामा उल्लेख छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रमणी जोशीद्धारा हस्ताक्षरीत सूचनामा नगरपालिकाको वडा नम्बर ७ तोल्यामा कोरोना संक्रमण पुष्टि भएकाले सो क्षेत्र अर्को सूचना नभएसम्मका लागि सिल गर्ने उल्लेख छ ।

२२ जना नयाँ संक्रमित थपिए

आइतबार सुदूरपश्चिमका थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १५ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा छ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।

महाकाली अस्पतालको प्रयोगशालामा १८ जनाको नमूना परीक्षण गर्दा १५ जनामा, डडेल्धुरा अस्पतालको प्रयोगशालामा २० जनाको नमूना परीक्षण गर्दा ६ जनामा र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ५ जनाको नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुस्टि भएको प्रवक्ता कार्कीले बताएका छन् ।

त्यस्तै, आइतबार कैलालीसंग सिमा जोडीएको गौरीफन्टा नाकाबाट भित्रिएका थप ४० जनामा ऐन्टिजेनमार्फत गरिएको परिक्षणमा कोरोना पुष्टि भएको छ ।

तीन सय ४० जनाको नाकामै एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ४० जनामा संक्रमण पुष्टि भएको हो । ३६ पुरुष र ४ महिला गरि ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट आइतबार चार सय ७५ भित्रिएकोे नाकामा खटेका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले जानकारी दिए । शंकास्पद र स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एन्टिजेन विधिबाट गौरीफन्टा नाकामा परीक्षण गरिएको थियो ।

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेपालीहरू धमाधम स्वदेश फर्किरहेका छन् । गौरीफन्टा नाकामा ३ चैतदेखि एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार