१६ चैत्र २०८०, शुक्रबार

एमाले प्रदेश कमिटीका निर्णय सार्वजनिक : थापालाई एक वर्षको कारबाही



धनगढी । नेकपा एमालेको माधव नेपाल पक्षको सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

एमाले माधव पक्षको प्रदेश कमिटिको गत २३ र २४ गते विस्तारित बैठक भएको थियो । प्रदेश कमिटीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा विस्तारित बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

एमाले माव नेपाल पक्षको सुदूरपश्चिम प्रदेश कमिटि इन्चार्ज डाक्टर भीम रावलले विस्तारित बैठकका निर्णयहरू सार्वजनिक गर्दै “पार्टीका सबै संगठनहरू पुनर्गठन गर्ने, एमाले ओली पक्षका प्रदेश अध्यक्ष कर्ण बहादुर थापालाई एक वर्षका लागि निलम्बन गर्न सिफारिस गर्ने लगायतका निर्णयहरू भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा एमाले माधव पक्षको समानान्तर जिल्ला कमिटीका पदाधिकारीहरूकोे नामावली समेत सार्वजनिक गरिएको छ ।

एमाले माधव पक्षको सुदूरपश्चिम कमिटिमा कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा प्रदेश सभा सदस्य तारा लामा तामाङ, उपाध्यक्ष जीवनराज थापा, सचिव रण बहादुर महरा, उपसचिव रविन्द्र कु“वर र कार्यालय सचिवमा मोहनसिंह रावललाई चयन गरिएको छ ।

त्यस्तै, बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगन बहादुर रावल, सचिवमा पुरबहादुर राउत र उपसचिवमा निरबहादुर शाही चयन गरिएका छन्् ।

त्यस्तै, बैतडी जिल्ला कमिटीको अध्यक्षमा महादेव भट्ट, उपाध्यक्ष कृष्ण साउद, सचिवमा हर्कबहादुर धानुक तथा उपसचिवमा गौरीदत्त भट्टले जिम्मेवारी पाएका छन्् ।

अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर र उपाध्यक्ष नन्दबहादुर कडायत चयन भएका छन्् ।

त्यस्तै, कैलाली जिल्ला कमिटिको अध्यक्षको जिम्मेवारी प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीले पाएका छन्् ।

त्यस्तै डडेल्धुरा जिल्ला कमिटी अध्यक्षमा डाक्टर तारा जोशी, उपाध्यक्षमा वीरेन्द्र बहादुर बस्नेत, सचिवमा धनबहादुर साउद र उपसचिवमा सन्तुकला नगरकोटीलाई चयन गरिएको छ ।

डोटी जिल्ला कमिटी अध्यक्षमा चक्रबहादुर मल्ल, उपाध्यक्षमा दुर्गाप्रसाद ओझा, उपसचिव मञ्जु मलासी र कार्यालय सचिवमा खड्क बहादुर कठायतले जिम्मेवारी पाएका छन्् ।

त्यस्तै, बझाङ जिल्ला कमिटी अध्यक्षमा दिलबहादुर सिंह, उपाध्यक्षमा इन्द्र बहादुर भण्डारी, सचिवमा दमन बहादुर भण्डारी, उपसचिवमा धन बहादुर बोहरा र कार्यालय सचिवमा सुरत बहादुर सिंहलाइ चयन गरिएको छ ।

दार्चुला जिल्लाको जिम्मेवारी पछि तोकिने माधव समूहको सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।

विस्तारित बैठकका निर्णय सार्वजनिक गर्दै नेकपा एमाले माधव पक्षका नेता डाक्टर रावलले आफूमाथि गरिएको कारबाही विधान विपरित भएको दाबी गरे । उनले भने– एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर मलाई कारबाही गरेका छन् ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओली आफै अवैध अध्यक्ष रहेको दाबी गरे । उनले भने– आफै अवैध रहेकाले मलाई गरेको कारबाही पनि अवैध हो । मैले सुनेको छु, सांसद पद जान्छ भनेर धेरैलाई धम्काईदै छ । त्यो गलत हो । हामी सबै एमालेमै छौ“ । हामी कसैको सांसद पद जा“दैन ढुक्क हुनुस् ।

उनले पार्टीको नवौं महाअधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई कसैले पनि आफूखुसी मनलागी ढंगले हटाउने अधिकार नभएको जिकिर गरे ।

थापालाई एक वर्षको कारबाही

नेपाल कम्युनिष्ट पार्टी एमाले (माधव नेपाल) पक्षले नेकपा एमाले सुदूरपश्चिमका सहसंयोजक कर्णबहादुर थापालाई एक वर्षका लागि निलम्बनका लागि सिफारिस गरेको छ ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मलेनमार्फत नेकपा एमालेका निलम्बित प्रदेश इन्चार्ज डाक्टर भीम रावलले सहसंयोजक थापालाई अनुशासनको कारवाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।

‘नेकपा एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्ने जस्तो घातक कार्यमा संलग्न हुनुका साथै पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भई पार्टीलाई बिसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेकाले सुदूरपश्चिम प्रदेश कमिटीका सहसंयोजक कर्णबहादुर थापालाई विधानको धारा ४९ को (क) को १ देखि ७ र १४ तथा धारा ५९ बमोजिम अनुशासनको कारवाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट १ वर्ष निलम्बनका लागि सिफारिस गरिएको छ’ इन्चार्ज रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार