७ कार्तिक २०८१, बुधबार

स्थानीय तहले सहयोग गरेन



धनगढी । सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले प्रदेश सरकारको कृषि तथा पशुपन्छी साझेदारी कार्यक्रममा स्थानीय तहहरुले सहयोग नगरेको बताएकी छिन ।

कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको द्धितिय चौमासिक तथा अष्टमासिक प्रगति गोष्ठिको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भनिन –‘तीन तहको सरकारको साझेदारी कार्यक्रम प्रभावकारी रुपमा अघि बढेका छन तर, प्रदेशका साझेदारी कार्यक्रममा स्थानीय तहहरुले सहयोग गरेनन ।’ उनले साझेदारी कार्यक्रममा प्रदेश सरकारले बजेट राखेपनि स्थानीय तहहरुले बजेट नहाल्दा कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको बताइन ।

उनले प्रदेश सरकारले स्थानीय तहसंग सहकार्य, समन्वय र सह–अस्तित्वका आधारमा अघि बढ्न प्रयास गरिरहेको बताइन । उनले भनिन –‘मन्त्रालयको संरचना जिल्ला तहसम्म रहेको छ । हामीले अघि बढाउने कार्यक्रमको जानकारी पहिला स्थानीय तहलाई हुन्छ तर, उनीहरुले ती कार्यक्रमबारे वडातहसम्म पुगाइदिदैनन । अनि असहयोग कहाँबाट भयो ?’ उनले स्थानीय तहहरुको बुझाइमा समस्या आउँदा प्रदेश सरकारका कार्यक्रमबाट किसानहरु वञ्चित हुनुपरेको बताइन । उनले स्थानीय तहसंग साझेदारीमा चक्लाबन्दी कार्यक्रम गर्न सकेमा प्रदेशमा कृषिले फड्को मार्ने बताइन ।

मन्त्री चौधरीले कृषिमा प्रदेश सरकारले केही गरेन भन्ने भ्रामक प्रचार कसैलाई पनि नगर्न आग्रह गरिन । उनले भनिन –‘कृषि उत्पादनमा आधारित प्रगति हुन्छ । यहाँ सडक, भवन बनाएमा मात्र सरकारले गरेको देख्छन । प्रदेश सरकारको तीन वर्षमा अहिले अन्नबाली, पशुपालन लगायतको उत्पादनमा वृद्धि भएको छ । तैपनि बजारमा मन्त्रालयले केही गरेन, आर्थिक अनियमितता र कार्यकर्ता पोस्नमै व्यस्त भयो जस्ता गलत कुप्रचार भइरहेका छन ।’

उनले ज्ञान केन्द्र र विज्ञ केन्द्रलाई जिल्लाको स्थितिका आधारमा कार्यक्रम तयार गर्न निर्देशन दिइन । उनले भनिन –‘जिल्लाको स्थिति र माग एक हुन्छ । अनि हामी फरक कार्यक्रम माग गर्छौ । यसले कार्यक्रम कार्यान्वयनमा समस्या दिन्छ । यस्ता झन्झट र समस्या ल्याउने कार्यक्रम निर्माण नगरौं ।’ उनले प्रदेश मन्त्रालयले कार्यक्रम कार्यान्वयनमा देखिएका समस्यालाई समाधान गर्न तर्फ तत्पर रहेको बताए । उनले भने –‘कार्यविधीले किसानलाई सेवा पाउन झन्झट भएको छ भने हामी संशोधन गर्न तयार छौं । कार्यविधी पनि किसानमैत्री बनाइन्छ ।’

मन्त्रालयका सचिव डाक्टर किशनलाल भट्टको अध्यक्षतामा कार्यक्रम भएको थियो । निर्देशनालयका कार्यक्रम अधिकृत पुस्करराज नाथले सञ्चालन गरेका थिए । कार्यक्रममा नौ वटै पशुपन्छी तथा मत्स्य विकास कार्यालय, पशु क्वारेन्टाइन कार्यालय, जिल्ला पशु सेवा कार्यालयका प्रमुखहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार