११ बैशाख २०८१, मंगलवार

भागरथी हत्याका आरोपी दिनेशको डीएनए मिल्यो



बैतडी / बलात्कारपछि हत्या गरिएकी बैतडी भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्ट र भागरथीको भजाइनल स्वाबको ‘डीएनए’ मिलेको प्रहरीले जानकारी दिएको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको भागरथीको भजाइनल स्वाबको डीएनए र दिनेशको डीएनए मिलेको रिपोर्ट आइपुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

अभियुक्त र मृतकको डीएनए रिपोर्ट मिलेपछि अनुसन्धान प्रक्रिया सहज तरिबकाले अघि बढ्ने उनले बताए ।

प्रनाउ अधिकारीले भने, “ यो भन्दा थप प्रमाण र सत्य अरु केही पनि हुँदैन । प्रहरीको अनुसन्धान फितलो थिएन भन्ने कुरा डीएनए मिल्नुले पुष्टि गरेको छ ।”

अभियुक्त दिनेशका परिवारले बैतडीबाट महेन्द्रनगर पुगेर पत्रकार सम्मेलनमा दिनेश निर्दोष रहेको र हत्यामा गाउँपालिकाकै एक कर्मचारीको संलग्नता रहेको दाबी गरेका छन् ।

भागरथी हत्याको मुद्दा सम्मानित अदालतमा पुगेकोले यो विषयमा बोल्न नमिल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले बताए ।

उनले भने ,“डीएनए मिलेपछि अरु के सत्य र प्रमाण चाहियो ? संसारका जुनसुकै यस्ता घटनाको यो भन्दा थप सत्य अरु केही हुनसक्दैन ।”
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते विद्यालयबाट घर फर्किदा लडालेक जङ्गलमा बलात्कारपछि हत्या भएको थियो ।

१३ दिन लामो अनुसन्धानपछि बलात्कार र हत्याको आरोपमा सोही गाउँका १६ वर्षीय दिनेश भट्ट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीले २१ दिन लामो अनुसन्धानपछि अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेशमा पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार