२३ बैशाख २०८१, आईतवार

कोरिया रिटर्नीहरुको सहकारी उद्घाटन



धनगढी । कोरियामा बैदेशिक रोजगार गरी फर्केका (कोरिया रिटर्नी) हरुको बहुउद्देश्यीय सहकारी संस्था उद्घाटन भएको छ ।
बुधबार सुदूरपश्चिम प्रदेशका सहकारी रजिष्टार गोकुलप्रसाद बोहराले कोरिया रिटर्नीहरुको परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गरे ।

धनगढीमा हेड अफिस रहने गरी स्थापना भएको सो सहकारीमा दुई सय जना कोरिया रिटर्नीको दुई करोड रुपैया“भन्दा बढिको लगानी रहेको छ ।

कोरियामा सिकेको सीप र आर्जेको पुँजिलाई एकीकृत गरी स्वदेशमा रोजगार सिर्जना गर्ने उद्देश्यले कोरिया रिटर्नीहरुले बहुउद्देश्यीय सहकारी सञ्चालन गरेका हुन् । दुई सय भन्दा बढि शेयर सदस्य रहेको सो सहकारी संस्थामा प्रति व्यक्ति एक हजार कित्ता शेयरको हिसाबले एक लाख रुपैयाँको शेयर लगानी गरेका छन् ।

सहकारीले पहिलो चरणमा चिस्यान केन्द्र स्थापना गर्ने, कृषि उपज प्रशोधन गर्ने उद्योग स्थापना गर्ने, शेयर सदस्यहरुलाई उत्पादनमुलक व्यवसाय गर्न ऋण दिने लक्ष्य लिएको छ । सहकारीका अध्यक्ष धर्मराज जोशीले विदेशबाट फर्केर व्यवसाय गर्न चाहने युवाहरुलाई सहयोग गर्ने मुल उद्देश्य राखेर सहकारी स्थानपना गरिएको बताए । उनले कोरिया रिटर्नीहरु सहकारीको शेयर सदस्य भएको र उनीहरुले विभिन्न कृषि व्यवसायमा संलग्न भएको हुनाले पहिलो प्राथमिताका साथ कैलालीमा चिस्यान केन्द्र बनाउन लागिएको बताए ।

उनले सहकारीको शेयर सदस्य संख्या दुई हजार र चुक्ता पुजी २० करोड रुपैया पुर्‍याउने लक्ष्य रहेको बताए । उनले चालु आर्थिक वर्षभित्रै सात करोड रुपैया चुक्ता पुजी पुर्‍याउने लक्ष्य रहेको बताए । उनले चालू आर्थिक वर्षमै कैलाली र कञ्चनपुरको २३ वटा स्थानीय तहमा वन स्टोर सेन्टर बनाउने लक्ष्य समेत राखिएको बताए । उनले सहकारी बचत तथा ऋणको काम समेत गर्ने जनाए ।

रिटर्नीहरुको सहकारी संस्थाको उद्घाटनमा रजिष्टार बोहरा सहित सुदूरपश्चिम प्रदेशका विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र कोरिया रिटर्नीहरुको सहभागिता थियो । उद्घाटनको क्रममा रजिष्टार बोहराले परिश्रम सहकारी संस्थाले बैदेशिक रोजगारबाट फर्किदा ल्याएको सीप र पुँजिलाई सदुपयोग गरी स्वरोजगार सिर्जनामा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार