८ बैशाख २०८१, शनिबार

भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह



कोरोना भाइरस संक्रमणको दोस्रो लहर

धनगढी । कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा सर्तकता अपनाउन आग्रह गरेका छन् ।

भारतमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण भयावह रुपमा फैलिएपछि कैलालीसहित सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाले सर्तकता अपनाउन आग्रह गरेका हुन् ।

भारतमा कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमा क्षेत्रमा कडाइ गर्नुका साथै जिल्लामा हुने विभिन्न गतिविधिमा रोक लगाएको छ ।

कोरोनाको त्रास बढेको भन्दै कार्यालयले एक सूचना प्रकाशित गरी फागू पूर्णिमालगायत महोत्सव, जुलुस, जात्रा र भीडभाड गर्न रोक लगाएको हो ।

कञ्चनपुर जिल्लामा कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै चैत १० गते सूचना प्रकाशित गरी कार्यालयले विभिन्न गथिविधिमा रोक लगाएको हो ।

प्रशासनले एक आदेश जारी गर्दै धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालन गर्नसमेत आग्रह गरेको छ । अत्यावश्यक बाहेकका व्यापार, उद्योग, कलकारखाना, यातायातलगायतमा सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ ।

नेपाल भारत सीमा गड्डाचौकी र गौरीफन्टा नाकाबाट मापदण्ड बमोजिम यात्रुको आवागमन र मालसामान ढुवानीको व्यवस्था विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म मात्र गर्नुपर्ने समेत सूचनामा उल्लेख छ ।

यस्तै, कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कैलालीमा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक विज्ञप्ति जारी गर्दै कैलाली जिल्लाभर होलीमा भिडभाड रोक लगाइएको हो ।

जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आदेश जारी गरेका छन् ।

यस्तै बाहिर निस्कि“दा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ । भारतस“ग सीमा जोडिएकाले भारतबाट आउने नागरिकको एन्टिजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ ।

कोभिड १९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालन आएका क्वारेन्टाइन‚ आइसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्र सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत थालिएको छ । आदेशको अवज्ञा गरे कारवाही हुने कैलाली प्रशासनले जनाएको छ ।

कोभिड १९ को खतरा आउन सक्ने भन्दै क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृहमन्त्रालयले चैत ९ गते ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको मन्त्रालयका उप सचिव तथा सूचना अधिकारी खुमकान्त आचार्यले जानकारी दिए ।

‘कोरोनाको जोखिम बढ्ने संकेत गरिएको भएर गृहले प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको हो,’ आचार्यले भने, ‘स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्ने अनुमान गरेको भएर हामीले सतर्क हुन निर्देशन दिएका हौं ।’ गृहले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भेला, सम्मेलन तथा भीडभाड हुन नदिनु, स्वास्थ्यको मापदण्ड पालना गर्न लगाउनु भनेर परिपत्र गरेको उनको भनाइ छ ।

डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले फागु पूर्णिमा होलीमा भीडभाड नगर्न र कोभिड–१९ को संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको जानकारी दिएका छन्् ।
उनले मास्क नलगाउनेहरूलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गरिने बताएका छन् । कोभिड–१९को संक्रमण भारतमा बढीरहेकाले खुला सीमानाकाका कारण नेपालमा पनि जोखिम बढेकाले सरकारले चैत ८ गते प्रेस विज्ञप्तिमार्फत सजग र सतर्क रही स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको थियो ।

भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका हु“दै कैलाली प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो ४÷५ दिनमा गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले ११ जनामा संक्रमण देखिएको पुष्टि गरे । भारतबाट फर्किरहेका नेपालीमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको छ ।

यस्तै पश्चिमी सीमा नाका गड्डचौकी र डोके बजार भएर भारतबाट स्वदेश फर्कने यात्रुहरूको एन्टिजेन विधिबाट कारोना परीक्षण सुरु गरिएको छ । सीमा नाकाको हेल्थ डेस्कमा स्वास्थ्यकर्मीको व्यवस्था गरी परीक्षण सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार