१० श्रावण २०८१, बिहीबार

मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति



लम्की । बसको ठक्करबाट मृत्यु भएका महिलाका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि परिवारले शव बुझेका छन् ।

मंगलबार बिहान लम्कीचुहा नगरपालिका, लम्कीचोकमा ना ७ ख ८८३३ नम्बरको बसको ठक्करबाट लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

घटनापछि मृतकका आफन्त तथा स्थानीयले प्रहरी बीट जलाउनुका साथै दिनभर यातायात ठप्प पारेका थिए । प्रदर्शनकारीहरु र प्रहरीबीच पटक पटक झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट दुई जना घाइते भएका थिए । मंगलबार दिनभर लम्की क्षेत्र तनावगूस्त रहेको थियो ।

बुधबार बिहान लम्की ईलाका प्रहरी कार्यालयमा पीडित पक्ष र रिभर साईड यातायात प्रालिबीच भएको छलफलमा मृतक कमलाका बालबालिकालाई पालन पोषणका लागि क्षतिपूर्ति दिने सहमति भएको उनका काका काशीराम देवकोटाले बताए ।

सहमतिपछि परिवारजनले शव बुझेका छन् । भने बुधबार नै कमलाको अन्तिम दाहसंस्कार गरिने काशीरामले बताए ।

रिभर साईड यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष जनक बमले क्षतिपूर्ति दिने बताएपछि दुईपक्षबीच सहमती भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरत बहादुर शाहले बताए । छलफलमा सहभागी लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जनक बलमे मंगलबार भएको घटना दुखद भएको बताए ।

छलफलका क्रममा मंगलबार प्रहरीको गोलीबाट घाइते भएका कृष्ण प्याकुरेल र दीपक सञ्ज्यालको उपचारको जिम्मेवारी सरकारले लिने प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार