७ कार्तिक २०८१, बुधबार

कोरोनाको दोस्रो लहरः स्वदेश फर्किन लागे नेपालीहरू



धनगढी । भारतमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएपछि रोजगारीका लागि पुनः भारतका विभिन्न राज्य तथा शहरहरू पसेका नेपालीहरू धमाधम स्वेदश फर्किन थालेका छन् ।

नेपाल र भारतमा लकडाउन खुलेसंगै भारतबाट फर्किनेभन्दा भारत जानेको संख्या तेब्बर बढि भएकोमा पछिल्लो डेढ महिनादेखि भारतबाट फर्किने नेपालीको संख्या दोब्बर भएको हो । कोरोना जोखीमकै बीच रोजगारीका लागि भारत छिरेका नेपालीहरू भारतमा पुनः लकडाउन हुन थालेपछि बेरोजगार हुँदै त्रिनगर भन्सार नाका र गड्डा चौकी नाकाबाट धमाधम फर्किरहेका छन्् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार फागुन महिनामा भारतबाट ३८ हजार आठ सय ७५ जना नेपाली भारतबाट फर्किएका छन्् भने २४ हजार तीन सय ४६ जना नेपालीहरू भारत गएका छन्् । यसरी भारत जानेमा र फर्किनेमा सुदूरपश्चिम प्रदेशका नागरिक रहेका छन्् भने केही कर्णाली प्रदेशको पनि रहेका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकार कृष्णानन्द जोशीले जनाए ।

भारतमा अहिले दोस्रो लहरको कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ । त्यसको असर नेपालमा समेत देखिन थालेको छ । आइतबार मात्रै भारतबाट रोजगारी गुमाएर फर्किदै गरेका एक जना नेपालीमा एन्टिजेन देखिएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतसंग सीमानाका जोडिएका कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला स्वास्थ्य कार्यालयहरूलाई नाका पुनः हेल्थ डेस्क राख्न लगाएको छ ।

बैतडीको दोगडाकेदार गाउँँपालिका घर भएका ति युवामा कोरोना पुष्टि भएपछि उनलाई स्वास्थ्यकर्मीको निगरानीमा ‘होम आइसोलेसन’ मा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले कोरोना पुष्टि भएपनि दोस्रो चरणको हो वा होइन भन्ने एकीन हुन बाँकी रहेको बताए ।

कोरोना संक्रमण फैलिएपछि गरिएको लकडाउनमा नेपालीहरू भारत लगायतका विभिन्न देशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका थिए । लामो समयसम्म स्वदेशमा बस्दा रोजगार नपाएपनि पुनः नेपालीहरू रोजगारी खोज्दै कोरोना संक्रमणको जोखीमलाई बेवास्ता गर्दै भारत छिरेका थिए ।

लकडाउनको बेला सुदूरपश्चिममा भारतबाट मात्रै अढाई लाख जना भन्दा बढि सुदूरपश्चिमेलीहरू स्वदेश फर्किएका थिए । प्रदेश र स्थानीय सरकारले कार्यक्रम र बजेटको व्यवस्था हुँदा हुँदै पनि रोजगारी गुमाएर फर्किएका नागरिकहरूका लागि रोजगार सुनिश्चित गर्न नसकेपछि नेपालीहरू पुनः रोजगारी खोज्दै नेपालीहरू अझै पनि भारत जाने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार