१० श्रावण २०८१, बिहीबार

वसको ठक्करबाट महिलाको मृत्यु प्रकरण : लम्कीमा गोली चल्दा दुई घाइते



लम्की / कैलालीको लम्कीमा बसको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको विषयमा प्रर्दशन चर्किदै जाँदा प्रहरी गोली चलाउदा दुई जना घाइते भएका छन् ।

प्रदर्शन नियन्त्रण गर्न खोज्दा प्रहरीले चलाएको गोलीबाट स्थानीय २७ वर्षीय कृष्ण काफ्ले र १८ वर्षीय दीपक सञ्ज्याल घाइते भएका छन् । काफ्लेको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुलाई दुबै जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

प्रदर्शनकारीले प्रहरीले चलाएको गोलीबाट उनीहरु घाइते भएको बताए पनि प्रहरीले सो कुराको पुष्टी गरेको छैन । प्रहरीले प्रर्दशन नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेर हवाइ फायर गरेको जनाएको छ ।

मंगलबार विहान पूर्वपश्चिम राजमार्ग अन्र्तगत लम्कीचुहा नगरपालिका– १ लम्की बजारमा मङ्गलबार बिहान बाटो काट्ने क्रममा बसले ठक्कर दिदा सोही ठेगाना भएकी २३ वर्षीया पैदलयात्री कमला देवकोटाकोे मृत्यु भएको थियो ।

बिहान करिब ७ बजे पश्चिम धनगढीबाट टीकापुरतर्फ जादै गरेको ना ७ ख ८८३३ नम्बरको कर्णली रिभर यातायात प्रालीको बसले लम्कीबजार चोकमै ठक्कर दिएको जनाइएको छ ।

बसको ठक्करबाट मृतकका ३ वर्षीय छोरा घाइते भएका छन् । घाइते बालकको उपचार भैरहेको छ भने बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

मृतकका आफन्तले क्षतिपूर्ति र दोषीमाथि कार्वाहीको माग गर्दे लम्की बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार