१३ बैशाख २०८१, बिहीबार

स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाकाे विवरण वडामा हस्तान्तरण



धनगढी । फाया नेपालले कोभिड–१९ लाई लक्षित गरी सञ्चालन गरेको स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजनाकाे विवरण वडामा हस्तान्तरण गरेको छ ।

सम्पन्न सो परियोजनाको सार्वजनिक लेखाजोखा तथा समन्वय बैठक सोमबार धनगढीमा आयोजना गरी फाया नेपालले सो परियोजना सम्बन्धी सम्पूर्ण विवरणहरु सम्बन्धित वडा कार्यालयहरुलाई बुझाएको हो । बैठकमा सम्पन्न परियोजनाको विवरणहरु फाया नेपालका अध्याक्ष लोकराज भट्टले ६ वटै वडाका वडाध्यक्षहरुलाई हस्तान्तरण गरिएको थिए । बुझाएको विवरणमा क्रियाकलाप सञ्चालन गरिएका ठाउँका लाभग्राहीहरुको सूचि, क्रियाकलाप सञ्चालनमा सहभागी स्वयम्सेवकहरुको नाम र सम्पर्क नम्बर लगायतका विवरणहरु समेटिएका छन् ।

फाया नेपालले अक्सफामको सहयोगमा २०२० जुनदेखि २०२१ मार्चसम्म धनगढी उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६, १७, १८ र १९ मा सो परियोजना सञ्चालन गरएको थियो । बैठकमा परियोजना अन्तरगत गरिएका विभिन्न क्रियाकलापहरुको उपलब्धी र लागत बैठकमा परस्तुत गरिएको थियो ।

सो क्रममा वडा अध्यक्षहरुले समेत सो परियोजनाका क्रियाकलापहरु आफ्नो तहबाट सञ्चालनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए । वडा नम्बर १५ का वडाध्यक्ष फूलराम चौधरीले परियोजना वडाबासीलाई सरसफाई गर्न र हात धुनेबानीको विकास गरेको बताए । उनले सो परियोजनाको विभिन्न क्रियाकलापहरु वडा कार्यालयले प्रत्यक्ष रुपमा संलग्न भएको बताउँदै अवको दिनमा निरन्तरता दिनुपर्ने बताए । उनले सकभर उपमहानगरपालिकाले नै नगरस्तरको कार्यक्रम बनाएर सबै वडामा लागु गर्नुपर्ने बताए ।

वडा नम्बर १६ का अध्यक्ष लक्ष्मीनारायण चौधरीले पनि परियोजनाका सिकाईले वडाबासी स्वच्थ भएको बताए । उनले वडाले सो परियोजनाको क्रियाकलापहरु लागु गरेर सबै वडाबासीको व्यबहार परिवर्तन गर्न आवश्यक देखिएको बताए । उनले परियाेजनाले काेभिड–१९ काे प्रभाव न्युनिकरणमा उदाहरणीय काम गरेकाे चर्चा गरे ।

कार्यक्रमका संयोजक सच्चिदानन्द जोशीले परियोजना अन्तरगत ति वडाका विभिन्न वस्तीमा हात धुने बानी लगाउनका लागि साप्ताहिक रुपमा छलफल गरिएको बताए । उनले हात धुनेका घरघरमा बकेट, ह्याण्ड वास र सावुन वितरण गरेको बताए । उनले वडा कार्यालय, विद्यालय र बढि भिडभाड हुने स्थानमा खुट्टाले चलाउन सक्ने ट्यांकी, ह्याण्ड वास व्यवस्था गरिएको बताए । कैलालीका सबै स्थानीय तहहरुलाई आइसोलेशन किट उपलब्ध गराउनुका साथै बढि भिड हुने स्थानमा कोभिड–१९ सम्बन्धी सूचना पार्टी टाँसेको कार्यक्रम संयोजक जोशीले बताए ।

फाया नेपालका अध्यक्ष भट्टको अध्यक्षतामा सम्पन्न बैठकमा फाया नेपालका निर्देशक धर्मराज पाठकले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनले परियोजनामा लाभग्राहीले स्वस्थ रहने वानीबेहोरा सिकेको बताए । बैठकमा सरोकारवाला र ६ वटै वडाका लाभग्राहीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार