१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा बढ्यो कोरोना जोखिम



धनगढी ।  भारतका विभिन्न स्थानमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएसंगै सुदूरपश्चिम प्रदेशमा पनि जोखिम बढेको छ। 

भारतका केही प्रदेशमा पुनः लकडाउन गर्न लागिएपछि रोजगारमा रहेका नेपालीहरु पुनः स्वदेश फर्कन लागेका छन्। स्वदेश फर्कन लागेपछि दोस्रो चरणको कोरोनाको जोखिम बढेको स्वास्थ्य निर्देशनालय दीपायलका स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए।

निर्देशनालयका अनुसार आइतबार भारतबाट फर्केर गड्डाचौकी नाकाबाट प्रवेश गरिरहेका एक जनामा कोरोना पुष्टि भएको थियो। नाकामा एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको निर्देशक डाक्टर अवस्थीले बताए।

बैतडीको दोगडाकेदार गाउँपालिका घर भएका ती युवामा कोरोना पुष्टि भएसंगै अहिले स्वास्थ्यकर्मीको निगरानीमा ‘होम आइसोलेसन’मा राखिएको छ।

निर्देशक डाक्टर अवस्थीले भने ‘कोरोना पुष्टि भएको छ। कुन दोस्रो चरणको हो वा होइन भन्ने अहिले भन्न सकिने अवस्था छैन।’

कोरोना भाइरसको महामारी शुरु हुँदा विश्वभरीकै विभिन्न राष्ट्रहरुले लकडाउन जारी गरेको थियो। सो समयमा भारतमा पनि लकडाउन हुँदा थुप्रै सुदूरपश्चिम प्रदेशका नेपाली नागरिकहरु पनि स्वदेश फर्कदा पहिलो लहरमा कोरोना संक्रमण फैलिएको थियो। भारतबाट आउने मानिसबाट पहिलो लहर फैलिए झै दोस्रो लहर पनि फैलिने जोखिम बढेको डाक्टर अवस्थीले बताए।

उनले पछिल्ला दिनमा नेपालमा मानिसहरूको व्यवहार पुनः पुरानै अवस्थामा फर्किनु पनि चिन्ताको विषय भएको बताए।

‘मानिसको यस्तो व्यवहारले सिस्टम थाक्न थालेको छ। र, यस्तो समयमा कोरोना पुनः सक्रिय बन्न थाल्छ’, उनले भने।

अहिले समाजमै कोरोना रहेकाले समयमै सावधानी नअपनाए भारतबाट आउने मानिसबाट फैलिन थप टेवा पुग्ने उनको तर्क छ।

‘अहिले जिम्मेवार मानिसहरू नै गैरजिम्मेवार बनिरहेका छन्। ठूला–ठूला राजनीतिक भेलाहरू भइरहेका छन्। मानिसले माक्स लगाउन छोडिसकेका छन्। पुरानै अवस्थामा बिहे तथा भोज हुन थालेका छन्। यो चिन्ताको विषय हो’, उनले भने।

पहिलो लहरलाई फैलन नदिन भारतबाट स्वदेश फर्केकालाई क्वारेन्टाइनमा राखि व्यवस्थापन गरिएको थियो भने संक्रमितहरुलाई आइसोलेसनमा राख्ने काम गरिएको थियो। पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएपछि सुदूरपश्चिम प्रदेशमा स्थापना गरिएका आइसोलेसन बन्द अवस्थामा रहेका छन भने नाकामा पनि परिक्षण गर्न छोडिएको थियो।

आइतबार एक जनामा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य निर्देशनालय दीपायलले चार वटा जिल्ला स्वास्थ्य कार्यालयलाई नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याउन पत्र पठाएको छ। निर्देशनालयले पठाएको पत्रमा भनिएको छ ‘प्रदेशमा भारतबाट नेपाल प्रवेश गर्ने मुख्य चार वटा नाकाहरुमा भारतमा काम गरेर फर्केका नागरिकहरुको अनिवार्य एन्टीजेन परीक्षणको व्यवस्था मिलाउन हुन अनुरोध छ।’ निर्देशनालयका अनुसार गत चैतमा कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएको थियो।

अहिले गड्डाचौकी र त्रिनगर नाकामा राखिएको हेल्थ डेस्कले परिक्षण गर्न शुरु गरेको निर्देशक अवस्थीले बताए। स्वास्थ्य निर्देशक अवस्थीले भने ‘हामीले अहिले भारतबाट घर फर्कने नागरिकलाई गड्डाचौकी र गौरिफण्टामा हेल्थ डेस्क राखी पुनः परिक्षण शुरु गरेका छौं।’ उनले बन्द रहेका आइसोलेसनलाई सञ्चालनमा ल्याउन स्थानीय तहहरुसंग अनुरोध गरिएको बताए।

उनले भने ‘दोस्रो चरणको कोरोना छिट्टै सर्छ। यसको जोखिमलाई फैलन नदिन सबैले पूर्वसावधानी अपनाउन जरुरी छ।’ उनले विश्व स्वास्थ्य संगठनले बनाएका मापदण्डहरुलाई आम सर्वसाधारणहरुले पालना गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार