१० श्रावण २०८१, बिहीबार

सुरक्षित वैदेशिक रोजगारीबारे रोजगार यात्रा



धनगढी । कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १८ का जनकराज भट्टले केही समयअघि प्रहरी सेवाबाट अवकास पाए । अवकासप्राप्त जीवनमा पनि केही काम गर्नुपर्छ भन्ने ध्येयसहित अहिले उनी वैदेशिक रोजगारमा जाने तरखरमा छन्् ।

‘प्रहरी सेवाबाट रिटायर्ड भए । अब जीविकोपार्जनका लागि सेक्यूरिटी गार्डको जागिर गर्ने मन छ । नेपालमा उचित पारिश्रमिक पाइदैन । त्यसैले विदेश जाने सोच बनाएको छु’ जनकराजले बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा भने– ‘वैदेशिक रोजगारमा जाने सोच बनाए, तर कसरी कुन माध्यम अपनाउँदा सुरक्षित हुन्छ भन्ने थाहा थिएन ।’

ग्लोवल इन्फो एडुकेसनल एण्ड भिसा सर्भिसले मेचीकाली रोजगार यात्रा २०७७ का क्रममा बिहीबार धनगढीमा आयोजना गरेको सचेतनामूलक कार्यक्रम सहभागि हुन पुगेका उनले भने– सुरक्षित वैदेशिक रोजगारबारे जानकारी लिन म सहित सरकारी जागिरबाट रिटायर्ड भएका अन्य साथीहरू पनि सहभागि भएका छौं ।

ग्लोबल इन्फो एडुकेशनलले वैदेशिक रोजगारमा जान इच्छुक व्यक्तिहरूलाई वैदेशिक रोजगारलाई कसरी सुरक्षित बनाउने भन्ने जानकारी दिने उद्देश्यले देशभरी कार्यक्रम गरिरहेको जनाएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का दलबहादुर खत्री वैदेशिक रोजगारबाट फर्केर अहिले आफनै व्यवसाय गर्दै छन् । एजेन्टमार्फत वैदेशिक रोजगारमा कतार गएका उनले दश वर्ष काम गरेका थिए । उनले भने– मैले त खासै समस्या भोगिन, तर त्यहाँ धेरै नेपाली दाजुभाईहरूले रोजगार नपाएको अवस्था थियो । कति दिन त उनीहरूले भोकभोकै सुत्नुपर्ने अवस्था पनि देखेको थिए ।

उनले वैदेशिक रोजगारमा जाँदा रोजगारदाता कम्पनीको सम्पूर्ण जानकारी लिएर मात्र जानुपर्ने सुझाव दिए ।

धनगढीमा आयोजित कार्यक्रममा संस्थाका संस्थापक सुन्दरमणी अधिकारीले भने– ‘कोरोना महामारीपछि वैदेशिक रोजगारमा जाने नेपालीहरू कमै थिए । तर, पछिल्लो समय पुनः युवायुवतीमा वैदेशिक रोजगारको आकर्षण बढेको छ ।’

उनले स्वदेशमै रोजगारी गर्नु उपयूक्त भएको बताए । उनले भने– ‘वैदेशिक रोजगार भन्दा पनि स्वदेशमै केही गरौं भन्ने आँट युवा युवतीले गर्न सक्नुपर्छ ।’

उनले वैदेशिक रोजगारकै कारण कतिपयको कमाएको पैसासंग घरवास नै विग्रेको जानकारी दिए । उनले भने– अहिले कतिपय नराम्रा समाचारहरू सुनिने गरेका छन् । कति जना श्रीमानहरू वैदेशिक रोजगारमा छन्, यता श्रीमति अर्कैसंग सम्पति लिएर भागेका लगायत घरबास विग्रेका कुराहरू पनि सुनिन्छिन् ।

उनले वैदेशिक रोजगार जानै परे सबै जानकारी लिएरमात्र जान सुझाव दिए । उनले भने– ‘विचौलियाभन्दा पनि सरकारबाट मान्यताप्राप्त म्यानपावर कम्पनीहरू र आप्mनो योग्यताका आधारमा सुरक्षित संस्थाका बारेमा जानकारी लिएरमात्र वैदेशिक रोजगारमा जान उपयूक्त हुन्छ ।’

कम्पनीका मार्केटिङ म्यानेजर कुमार खड्काले नेपालीहरू अरुको देखासिखीबाट अघि बढ्ने गर्ने हुनाले दुःख पाइरहेको बताए । उनले भने– छिमेकी कसैले विदेशबाट पैसा कमाएको हल्ला सुनेपछि त्यही लहलहिमा लागेर केही थाहा नपाएरै विदेश जादा दुःख पाएका छन् ।

उनले विदेशमा कमाइमात्र होइन त्यहा हुने खर्चबारे सोच्न पनि सुझाव दिए । उनले भने– ‘लाख रुपैयाँ कमाइन्छ मात्र सोच्छौं । अनि त्यहाँ खर्च कति हुन्छ नबुझी वैदेशिक रोजगारमा जान्छौं । यसका कारण वैदेशिक रोजगारमा रहेका थुप्रै नेपालीले दुःख पाएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार