७ बैशाख २०८१, शुक्रबार

छेडेदहमा एक घर एक बैंकखाता अभियान



धनगढी । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकालाई एक घर एक बैंक खाता अभियान सफल बनाउने मुलुककै पहिलो गाउँपालिका घोषणा गरिएको छ ।

हिमालयन बैंक लिमिटेडको छेडेदह शाखाको सहकार्यमा सो अभियान पुरा भएको जनाइएको छ ।
‘वित्तीय चेतनामा अभिबृद्धि सन्तुलित आर्थिक गतिविधि आत्म निर्भरताको लागि बैंक खाता’ मार्फत वचत बृद्धि नारा तय गर्दै गाउपालिकाले हिमालयन बैंक मार्फत अभियान चलाएको थियो ।
शुक्रबार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रमबीच नेपाल राष्ट्र बैंक सुदुरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक सुवासचन्द्र घिमिरेले एक घर, एक बैंक खाता घोषणा कार्यक्रमको उद्घाटन गरे ।

गाउँपालिका अध्यक्ष नरबहादुर रावतले पत्र वाचन गरेर गाउ“पालिका ‘एक घर एक बैंक खाता’ सञ्चालनमा देशकै पहिलो भएको घोषणा गरे ।

२०७६ सालको नयाँ वर्षमा सरकारले ‘समृद्धिसँग जोडौं नाता, सबै नेपाली बैक खाता’ नारा सहित खोलौ बैंक खाता अभियान घोषणा गरेको थियो ।

तीन हजार २३४ घरधुरी तथा २२ हजार १३५ जनसंख्या रहेको छेडेदह गाउँपालिकामा एक वर्षको अवधिमा हिमालयन बैंकले सो अभियान अन्तर्गत नौ हजार ४७६ बैंक खाता सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सुदुरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक घिमिरेले बैंक तथा वित्तिय संस्थाको सहभागितामा मात्र आर्थिक गतिबिधि सहज हुने तथा विकासका कार्यक्रमले गति लिने बताए ।

कार्यक्रममा बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले अभियानले गाउ“पालिकाको ‘वित्तीय चेतनामा अभिबृद्धि–सन्तुलित आर्थिक गतिविधि आत्मनिर्भरताको लागि बैंक खाता मार्फत वचत बृद्धि’ नारालाई वास्तविकतामा परिणत हुने चर्चा गरे ।

स्थानीय सुर्जादेवी रावतले हिमालयन बैंकले सञ्चालन गरेको अभियानले गाउपालिकालाई नै नमूना गाउपालिकाको रुपमा चिनाएको तथा स्थानीयहरूलाई बैंकिंग सचेतना र सेवामा उल्लेख्य बृद्धि गरेको बताइन् ।

व्यवसायी लालबहादुर रावतले हिमालयन बैंकको शाखा स्थापनाले जिल्ला सदरमुकाम मार्तडी तथा धनगढीबाट लिईरहेको आधुनिक बैंकिङ सेवाहरू आफ्नै घरदैलोमा आएको र स्थानीयको जिवनस्तरमा सकरात्मक सुधार भैरहेको बताए ।

उनले चर्को व्याजदरमा साहु महाजनहरूबाट हुने गरेको कर्जा कारोबार सहुलियत व्याज दरमा ‘क’ वर्गको बैंकमार्फत घरदैलोमै उपलब्ध भएकोमा खुसी व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष नरबहादुर रावतले नेपालमा बैंकिङ सेवाको सुरुवात भएको ८६ वर्ष भए पनि मानव विकास सूचकांकको अन्तिम स्थानमा रहेको जिल्लाको स्थानीय निकायले नै वित्तीय साक्षरता अभियानमा नमुनाको रुपमा उदाएको बताए ।

कार्यक्रममा सुरक्षा निकायका अधिकारीहरू, सार्वजनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी, राजनीतिक दलका प्रतिनिधिहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार