३ जेष्ठ २०८१, बिहीबार

कोरोना प्रभावित योजनाहरु अघि बढे



धनगढी । कैलालीमा कोरोना महामारीका कारण रोकिएका विकास निर्माण योजनाहरु मध्ये केही अघि बढाइएका छन् ।

विशेष गरेर सडक निर्माण, पक्की पुल निर्माण, स्थानीय तहको भवन निर्माणका काम सम्झौता समय अवधिमै पुरा गर्ने गरेर धमाधम काम भइरहेको बताइएका छन् ।

यसक्रममा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने टेग्ना खोलामा पक्की पुल बन्न थालेको छ । डेढ वर्षमा पुरा गर्ने गरेर पुसबाट निर्माण शुरु भएको सो पक्की पुल कोरोना कहरका कारण छ महिनासम्म रोकिएको थियो ।

करिब चार करोड ३५ लाखमा सूदुरपश्चिम प्रदेश सरकारको सहयोगमा निर्माण हुन थालेको सो पुल निर्माण कार्यका लागि ठेक्का पाएको जयविष्णु निर्माण सेवा कम्पनीका सञ्चालक अनिल सिलवालले लकडाउन अवधिमा काम गर्न नसकेको र वर्षातका कारणले रोकिएको निर्माणको काम तिब्र गतिमा अघि बढाएको बताए ।

३५ प्रतिशत काम भएर करिब छ महिना रोकिएको पुल निर्माण कार्यले असोजपछि तिब्रता पाएको बताउदै सञ्चालक सिलवालले हालै काम सकिएको बताए । सञ्चालक सिलवालले भने ‘जनशक्ति बढाएर तिब्र गतिमा निमार्ण कार्य अगाडि बढाइयो, सम्झौता मिति भन्दा अगावै पक्की पुल निर्माण भएको छ ।

सुदूरपश्चिम प्रदेश सभाका सदस्य अम्मर साउदले आफ्नो निर्वाचन क्षेत्रमा पहिलो पटक समयमै पक्की निर्माणको काम पुरा भएकोमा खुसी व्यक्त गरे ।

पक्की पुलको स्थलगत अबलोकन गर्न पुगेका घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले ठूला विकास निर्माणका काम ठेकेदारका कारण समयमै पुरा नहुने,रकम लिएर काम ढिलासुस्ती गर्ने गरेको बताउँदै कोभिडको असरका बावजुद पनि समयमै काम सम्पन्न गरेकोमा ठेकेदारलाई धन्यबाद दिए ।

सबै ठेकेदार कम्पनीले यसरी नै गुणस्तरियतालाई ध्यानमा राखेर समयमै काम गरे विकासले तिब्रता पाउने समेत उपप्रमुखले आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार