५ जेष्ठ २०८१, शनिबार

सुर्मासाइपाल आफ्नै भवनमा




धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको सुर्मा साइपाल सहकारी संस्थाले आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।

सुर्मासाइपाल सहकारी संस्थाले वडा नम्बर ८ मा खरिद गरिएकोे आफ्नै भवनबाट बिहीबारदेखि सेवा प्रवाह शुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले बिहीबार एक विशेष कार्यक्रमबीच नवनिर्मित सहकारी भवनको उद्घाटन गरे ।

सो अवसरमा सभामुख थापाले सहकारीले गरिव वर्गको आयस्तरमा सुधार ल्याउन योगदान गरिरहेको बताए । उनले भने– सहकारीबाटै समाज र राष्ट्रलाई आत्मनिर्भर बनाउन सकिन्छ । उनले कोरोना महामारीपछि धेरै सहकारीहरुले आर्थिक घाटा व्यहोर्नु परेको बताए ।

भवन उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य देवराज पाठक, धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायणप्रसाद बराल, उपमहानगरपालिका सहकारी महाशाखाका प्रमुख हरिसिंह साउद, संस्थाका संस्थापक सदस्य बलबहादुर रोकाया, धनबहादुर बोहरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष तुलाराम गिरीको अध्यक्षतामा भएको थियो । संस्थाका कार्यसमिति सदस्य कृष्णराज जोशीले संस्थाले एक करोड ३४ लाख रुपैयामा भवन र जग्गा खरिद गरेको बताए । उनले घरको संरचनामा रहेको सो भवनलाई १० लाखमा मर्मत गरि कार्यालय संरचनामा तयार गरिएको जानकारी दिए ।

उनका अनुसार एक सय १० संस्थापक सदस्यबाट सञ्चालनमा आएको सहकारीमा अहिलेसम्म आठ सय ७२ सदस्य रहेको जानकारी दिए ।

संस्थाका उपाध्यक्ष ओमप्रकाश जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव तुल्सीकुमारी शर्माले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार