१० श्रावण २०८१, बिहीबार

आज महाशिवरात्री



धनगढी । आज (बिहीबार) हिन्दू धर्मावलम्बीको महान महाशिवरात्री पर्व । नेपाल तथा विश्वभरी हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको पुजाआजा, आराधना, उपवास गरेर धुमधामसंग मनाउने गर्दछन्् ।

शिव उत्पत्ति भएको रातका नामबाट नामाकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ । हिन्दू धर्मशास्त्रमा कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्रीलाई चार प्रमुख रात्री मानिन्छ । यी चार रात्रीलाई अति पवित्र मानिन्छ ।

शिवरात्री सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइन्छ । हिन्दू धर्मावलम्बीहरू शिवरात्रीको व्रतलाई सर्वोत्तम व्रतका रुपमा लिन्छन् । यस दिन भक्तजनहरूले सुद्ध भएर शिवालयहरूमा पूजाअर्चना गर्ने, व्रत उपसना गर्ने गर्दछन्।

शिवरात्रीमा सुद्ध भएर उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भएर यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अंग मानिन्छन्। शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।

शिवरात्रीका दिन कैलालीको शिवपुरीधाम, गोदावरीधाम, घोडाघोडी मन्दिर लगायत विभिन्न शिवालयमा धर्मावलम्बीहरू पुजापाठका लागि धाउने गरेका छन् ।

उता, कैलालीको टीकापुरस्थित शिवमन्दिर व्यवस्थापन समितिले यस वर्ष शिवरात्रिमा अखण्ड अष्टयाम महापूजा गर्ने भएको छ । मन्दिर व्यवस्थापन समितिले फागुन २७ गते शिवरात्रिका दिन बिहान ५ बजेदेखि २८ गते बिहान ५ बजेसम्म अखण्ड अष्टयाम महापूजा गर्ने तयारी थालेको छ ।

यसअन्तर्गत विभिन्न ८ वटा चरणमा धार्मिक अनुष्ठान सम्पन्न गर्ने तयारी भएको छ । १ हजार ८ लडडुको महाभोग, १००८ बेलपत्रको बिल्वार्चनसहित विशेष पूजाअर्चना साथै सन्ध्याकालीन आरती र भजन कीर्तनसहित रात्रि जागरण हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

‘शिवरात्रिका लागि मन्दिर परिसरमा सरसफाइ, पानीको व्यवस्था, स्वयंसेवक परिचालन र विभिन्न उपसमिति गठन भई परिचालन भइसकेका छन्,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनासहित काम थालेका छौं ।’

उनले शिव मन्दिर टीकापुर शहर स्थापना सँगसँगै स्थापना भएको हुनाले नगरवासीका लागि ऐतिहासिक महत्त्व रहेको बताए । ‘अघिल्लो वर्षभन्दा केही फरक गरौं भन्ने साथीहरूको मनसायले मेहनत गरेका छौं । सबैको सहयोग आवश्यक छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘शिवरात्रि विशेष खालका अनुष्ठानहरू गर्ने पर्व हो, यस पर्वमा तान्त्रिक अनुष्ठान गर्नाले बिग्नबाधा हट्न जान्छ ।’

‘धार्मिक क्षेत्रमा यस भेगकै प्रतिनिधित्व गर्ने संस्था भएका हुनाले यस मन्दिरकै कारण हाम्रो समाज एकढिक्का हुने अवस्था छ, यसको गरिमा बढाउन सबैले खुला हृदयबाट सहयोग गर्न जरुरी छ,’ शिक्षक तथा सनातन संस्कृति प्रतिष्ठानका महासचिव चक्रपाणि भट्टराईले भने, ‘धार्मिक र ऐतिहासिक महत्व बोकेको यस मन्दिर विकास र संरक्षणमा समेत स्थानीय सरकारले चासो दिएको छ । हामी त्यसका सहयात्री भएर सनातन धर्म संरक्षणमा लागेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार