१३ बैशाख २०८१, बिहीबार

बुवाको पहिचान नहुँदा बालिकाको बिचल्ली !



बैतडी / माइतीमै जन्माएकी बालिकाको बुवाको पहिचान नहुँदा बिचल्ली भएको छ । समाजले कुरा काट्न थालेपछि आमालेसमेत बालिकालाई छोडेर हिँडेपछि १० वर्षीया बालिकाको बिचल्ली भएको हो ।

बैतडीको मेलौली नगरपालिका–७, काँडा स्थित दशमार गाउँकी गौरी भट्टले माइतमै छोरी जन्माएकी थिइन । बुवा पत्ता नलागेपछि समाजको कुरा सहन नसकेर गौरी भट्ट दुई वर्षकै दूधे बालिका मनिषालाई माईतमै छाडेर हिँडेकी हुन् ।

आमाले छोडेर हिँडेपछि मामाघरमा हुर्किरहेकी मनिषा अहिले १० वर्षकी भइन। बुवा पत्ता नलाग्दा मावलीले समाजको डरले मनिषालाई थर समेत दिन सकेका छैनन् ।

बुवाको ठेगान नहुँदा मावली पट्टीको थर राख्न पनि असजिलो भएकोले मनिषा पाल राखिएको मावली पट्टीका जानकार वीरेन्द्र भट्टले बताए ।

भट्टले भने, “ बालिकाकी आमा गौरी भट्ट हाम्रो नातागोता भित्रकै बहिनी हुन् । डडेल्धुरा गएको खबर थाहा छ । त्यहाँबाट पेट बोकेर आएपछि माईतमै बच्चा जन्मियो । बुवाको ठेगान छैन । आमाले दुई वर्षकै उमेरमा बालिकालाई छाडेर हिँडेपछि बिचल्ली भएको छ ।”

आमाले छोडेर गएपछि मामा घरमा हुर्किरहेकी मनिषा सामाजिक रुपमा हेलाको पात्र बनेकी छिन् । घरको आर्थिक अवस्था राम्रो छैन । त्यसमाथि समाजले हेर्ने दृष्टिकोणका कारणले पनि आफूहरु हेलाको पात्र बनेको मावलीपट्टीका बाजे रामदत्त भट्टले बताए ।

मावलीमा बृद्ध बाजे बज्यै र एक मामा रहेको मनिषाले बताउनुभयो । आमा, बाबा नहुँदा नरमाइलो लाग्ने गरेको मनिषाले पीडा सुनाइन ।

गाउँकै नेत्रज्योति आधारभूत विद्यालयमा कक्षा–२ मा अध्ययनरत मनिषाले विद्यालय जान कापी कलमसमेत नहुँदा त्यत्तिकै किताब बोकेर जाने गरेको बताइन ।“मामाघरमा कापी कलम किन्ने पैंसा छैन भन्नुहुन्छ,” मनिषाले भनिन, “ स्कुल जान मन लाग्छ ।

आमाले छोडेर नगएको भए कति राम्रो हुन्थ्यो । आमा भएको भए स्कुल जाँदा चुल्ठो बाटिदिने थिइन् । भोक लाग्दा टिफिन खान दिने थिइन् । साथीभाइले ‘टिफिन टाईममा’ खाने कुरा खान्छन् । म भोकै बस्छु ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार