८ बैशाख २०८१, शनिबार

किसान सूचिकरण अभियान शुरु



धनगढी । नेपाल सरकारले शनिबारदेखि देशभरी नै किसान सूचिकरण राष्ट्रिय अभियान शुरु गरेको छ । किसानको पहिचान गरी सरकारी तवरबाट किसानहरूलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तीनै तहको साझेदारीमा किसानहरूको आवश्यक विवरणहरू विद्युतीय प्रणालीमार्फत संकलन गरी सूचिकरण गर्ने अभियान शुरु गरेको हो ।

किसान सूचीकरण अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले जुममार्फत आरम्भ भएको घोषणा गरेका थिए ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जुममार्फत प्रधानमन्त्री ओलीले अभियान आरम्भ भएको घोषणा गरेपछि मन्त्रालयले पहिलो चरणमा नमुनाका रुपमा तीन किसानलाई किसान परिचयपत्र वितरण गरेको छ ।

कृषि निर्देशनालयका निर्देशक मदनसिंह धामीले किसानलाई प्रमाणपत्र वितरण गरेका थिए । नमुनाका रुपमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० घुइया“घाटमा मिश्रित कृषि कार्य गरिरहेका देवराज चौधरी, किरण राना र धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का मनोज पडाललाई वितरण गरेका थिए ।

कृषि निर्देशक धामीले किसान पहिचान र सूचिकरण सम्बन्धी कार्य गर्न मन्त्रालयले वेवमा आधारित एक सफ्टवेयर प्रणाली विकास गरेको बताए । सो प्रणाली संघ, प्रदेश र स्थानीय तहसम्म जोडिएको बताए । उनले देशभित्र जुनसुकै स्थानमा बसोबास गरि कृषि पेशामा आवद्ध व्यक्तिहरू समेटिने बताए । सूचिकरणमा आएका किसानहरूको व्यक्तिगत विवरण संकलन गरि वैकिङ खाता खोल्ने र संकेत नम्बर उपलब्ध गराइने बताए । उनले भने– अभिलेखिकरण प्रमाणिकरण भएका किसानहरूलाई बालीका विऊ, मलखाद, उपकरण लगायतका अनुदान पाउन सहज हुने छ ।’

उनले अभियान शुभारम्भ भएसंगै अब स्थानीय तहका कर्मचारीहरूलाई तालिम दिइने र स्थानीय तहहरूले सूचिकरणका लागि नामावली संकलन गर्ने बताए । अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन संघिय सरकारले कार्यविधी तयार गरेको छ ।

सोही कार्यविधीका आधारमा संघ, प्रदेश र स्थानीय तहको भुमिका, सूचिकरण गर्न आवश्यक पर्ने कागजपत्र लगायत विभिन्न कुरा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार