१४ बैशाख २०८१, शुक्रबार

५० वर्षपछि बदेडाबासीलाई सुद्ध खानेपानी



बाजुरा । सधै कुवा र खोलाको धमिलो पानी खान बाध्य भएका बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर ९ बदेडाबासीले ५० वर्षपछि धाराको सुद्ध पानी खान पाउने भएका छन् ।

पानीको मुहानबाट नै वञ्चित हुदै आएका बदेडावासीका लागि छिमेकी गाउँ बासुरेवासीले जाडेपानीको मुहान खानेपानीका लागि दिएपछि बदेडाबासीले बल्ल ५० वर्षपछि सुद्ध खानेपानी खान पाउने भएका छन् ।

बुढीगङ्गा नगरपालिकाको साझेदारीमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना नामक संस्थाले बदेडाका १२४ घरपरिवारलाई २९ वटा धारा निमार्ण गर्ने गरेर खानेपानी योजनाको काम सुरु गरेको बदेडा खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण रावलले बताए ।

बुढीगङ्गा नगरपालिका वडा नम्बर १० का ७५ वर्षीया जौमा सार्कीले भनिन्– म यो गाउँमा आएको ६५ वर्ष भयो । म आएदेखि कुवा र खोलाकै धमिलो पानी खाँदै आएका थियौ । बिहानै उठेर पानीकै जोहो बेलुकी पानीकै जोहो गर्नु परिरहेको थियो ।

हरेक वर्ष साउनदेखि फागुनसम्म कुवाको पानी र चैतदेखि असारसम्म दुइ घण्टाको बाटो हिडेर खोलाको पानी खान बाध्य भएको सम्झदै जौमाले भनिन्– अव सजिलो हुने भएकोले खुसी लागेको छ ।

बुढीगङ्गा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष धर्मराज जैशीले यो वर्ष भित्र १२४ घरपरिवारले स्वच्छ खानेपानी खान सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार