१२ बैशाख २०८१, बुधबार

अवैध रुपमा उत्खनन् कार्यमा संलग्न जेसिबी नियन्त्रणमा



टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ स्थित चिसापानी कर्णाली सामुदायिक वनभित्रको कर्णाली नदी शाखामा अवैध उत्खनन गरिरहेका दुई वटा जेसीबी र एउटा स्काइभेटर वन प्रशासनले शुक्रबार नियन्त्रणमा लिएको छ ।

से १ क १२२४, बा १ क २६०० नम्बरका जेसीवी सवडिभिजन कार्यालय लम्कीमा राखिएको र नम्बर नभएको स्काइभेटर सामुदायिक वनकै कार्यालयमा राखिएको छ

सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले उत्खनन रोक्न खोज्दा उनीहरूले नमानेकाले वन प्रशासन गुहार्नु परेको वनका अध्यक्ष दिमन चौधरीले बताए । चिसापानीका व्यापारी नारायण पराजुलीको संरक्षणमा उत्खनन गरी सामग्री बर्दिया निकासी गरिरहेको खुलेको छ । जेसीवीका चालक बाँके कचनापुरका चुर्णबहादुर चौधरीले बनकटुवाको तटवन्धका ठेकेदार इश्वरी कँडेलको आफूहरूलाई कैलाली चिसापानीका पराजुलीको माध्यमबाट काममा पठाएको बताए । उनीहरूले नदीमै पाँच मिटर गहिरो खाल्डो बनाई ढुङ्गा निकालेका छन्् ।

चिसापानी कर्णाली सामुदायिक वनका दुई वटा प्लट गत वर्ष मात्रै बगेका र यस वर्ष अटेर गरी उत्खनन् गरेकाले अर्को टापु पनि बग्ने खतरमा रहेको सामुदायिक वनका सदस्य हिरासिंह डगौराले बताए । यस पटक पक्राउ परेकाहरूलाई त्यसै छोडिए वन त सखाप बनाउछन् नै तलको बस्ती पनि बगाउने डगौराको भनाई छ ।

उठाउनै नमिल्ने ठाउँमा एक महिना अघिदेखि उत्खनन गर्न राखिएका तीन वटा मेशिन नियन्त्रणमा लिईएको र आवश्यक कारवाही गरिने सव डिभिजन कार्यालय टीकापुरका निमित्त प्रमुख ध्रुवप्रसाद उपाध्यायले जानकारी दिए ।

उत्खननको ठेक्का पाएका व्यक्तिले मापदण्ड विपरित उठाउने गरेको पाइए पनि ठेक्कै नलिएका व्यक्तिले वनक्षेत्रभित्र धम्क्याएर यत्रो स्रोत लिएको पहिलो चोटी थाह भएको जिल्ला समन्वय समिति कैलालीका सदस्य ललित साउदको भनाई छ । उनका अनुसार उठाउन मिल्ने ठाउँमा पनि ९० सेन्टिमिटरसम्म उत्खनन गर्न मिल्छ तर यहाँ उठाउनै नमिल्ने ठाउमा पाच मिटरसम्म उत्खनन भएको छ स्थानीय सरकारले नै आफ्नो अधिकार क्षेत्रभित्रको सुरक्षा गर्न सकेको छैन ।

अन्धाधुन्ध उत्खननले कर्णाली नदीले दक्षिणतर्फका जानकी गाउँपालिका र टीकापुर नगरपालिकालाई क्षति पुर्याउँदै आएको छ । कैलाली तर्फको अत्याधिक उत्खननले यहाँ अर्बौको लगानीमा बनिरहेको रानी जमरा कुलरिया सिचाई आयोजनाको तटवन्ध प्रभावित भैरहेको भविष्यमा अन्य संरचनामा पनि असर गर्ने आयोजनामा एक प्राविधिकले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार