१० श्रावण २०८१, बिहीबार

धनगढी उपमहानगरपालिकाको छैठौ नगर सभा



धनगढी । धनगढी उपमहानगरपालिकाको छैठौं नगरसभा शुक्रवार धनगढीमा भएको छ । नगर सभाबाट तीनवटा विधेयक पारित भएका छन् ।

धनगढी नगर सभाले न्यायीक समिति कार्यविधि ऐन २०७४ को पहिलो संशोधन २०७७, धनगढी उपमहानगरपालिका स्वास्थ्य सम्वन्धी ऐन २०७७ र धनगढी उपमहानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धी ऐन २०६६ को विधेयक पारित गरेको छ ।

नगर सभामा नगर प्रमुख तथा नगर सभा अध्यक्ष नृपबहादुर वडले नगर सभाका सबै सदस्यहरू दिनरात जनताको सेवामा खटिएका कारण धनगढी उपमहानगरपालिकालाई देशकै उत्कृष्ट नगरको रुपमा सम्मान गरिएको चर्चा गरे ।

उनले भने– हामी सबै निर्वाचित भएर आएपछि अहिलेसम्म हामीले गरेका कामहरूको इमान्दारीपूर्वक समिक्षा गर्नु पर्छ र हामीले चुनावताका जनतामाझ गरेका बाँकी प्रतिवद्धताहरू पुरा गर्न अझ बढी खटिनु पर्दछ ।

उनले तीन वर्षको अवधिमा उपमहानगरपालिकाका १९ वटा वडा कार्यालयहरूमध्ये १६ वटा वडाको आफ्नै कार्यालय भवन निर्माण गरिसकेको बताए । त्यस्तै, यो अवधिमा तीन वटा स्वास्थ्य संस्थाबाट १० वटा वडामा नगर स्वास्थ्य केन्द्रहरू स्थापना गरेको र उपमहानगरपालिकाभरी भौतिक पूर्वाधार संरचना निर्माणले गति लिएको उनले चर्चा गरे ।

उपमहानगरपालिकाका अनुसार तीन वर्षको अवधिमा २७ वटा विद्यालय भवन तथा शौचालयहरू निर्माण गरिएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिका खानेपानी योजना विकासको क्षेत्रमा देशकै दोस्रो नगरपालिकाका रुपमा रहेको छ ।

यो अवधिमा उपमहानगरपालिकाभित्र रहेका पर्यटनस्थलहरू बेहडाबाबा, जाखोरताल, शिवपुरीधाम लगायतका धार्मीक पर्यटकीय स्थलको विकासका लागि गुरुयोजना अनुसार काम भईरहेको छ । पछिल्लो तीन वर्षको अवधिमा धनगढी उपमहानगरपालिकाले १४ वटा ऐन पारित गरिसकेको छ । त्यस्तै, चार वटा नियमावली, ३२ वटा कार्यविधि, तीन वटा निर्देशिका र दुई वटा आचारसंहिता सहित ५५ वटा ऐन, नियम, कार्यविधि, कानुन पारित भएर कार्यान्वयन भइसकेको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरसभामा नगर उपप्रमुख सुशीला मिश्र भट्टले नगर सभामा टेबुल भएका विधेयकहरूमाथि नगर विधायन समिति र सरोकारवालाहरूसंग छलफल हुने गरेको चर्चा गरिन् ।

उनले भनिन्– स्पष्ट हुन नसकेका विषयमा नगरसभा सदस्यहरूले दिएका सुझावहरूलाई समावेश गरेर पारित गरेर राजपत्रमा प्रकाशित हुने गरेका छन् ।

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीले लामो समयपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएकाले जनताका धेरै आशा अपेक्षा रहेको चर्चा गरे । उनले भने– हामी जनप्रतिनिधिहरूसंग जनताका धेरै आशा अपेक्षा छन् । तर, स्रोत साधन तथा समयको कमीका कारण जनताका सबै अपेक्षाहरू हाम्रै कार्यकालमा पुरा हुन कठिन हुनेछ ।

वडा नम्बर ७ का अध्यक्ष सिताराम रानाले हावाहुरी र कोरोना महामारी बीच पनि उपमहानगरपालिका तथा वडाहरूमा जनताको पक्षमा उल्लेख्य कामहरू भएको बताए ।

वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले चुनावको समयमा जनतासंग गरेका प्रतिवद्धता कति पुरा गर्न सक्यौ भनेर समिक्षा गर्दै अगाडी बढ्नुपर्ने बताए ।

नगर सभामा तीन दर्जन बढी नगरसभा सदस्यहरूले छलफलमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार