१० श्रावण २०८१, बिहीबार

प्रेमिका नै हत्या योजनाकार



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ का ३६ वर्षीय शिवचरण रानाको हत्यामा उनकै प्रेमिका योजनाकार रहेको खुलासा भएको छ ।

शिवचरण गत १५ गते मृत अवस्थामा भेटिएका थिए ।

शिवचरणकी प्रेमिका जयन्ती चौधरीले दुई जना आफन्तलाई प्रयोग गरी उनको हत्या गरेको स्वीकार गरेको कैलाली प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियुक्त जयन्तीलाई सार्वजनिक गरेको छ ।

कैलाली प्रहरी प्रमुख (एसपी) अनुप समसेर जबराले जयन्तीले आफूले नै हत्या योजना बनाएको साविती बयान दिएको पत्रकारहरुलाई जानकारी दिए ।

प्रहरी उपरीक्षक जबराले शिवचरण र जयन्तीबीच अवैध प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलासा भएको बताए । उनले भने– शिवचरण र जयन्तीबीच लामो समयदेखि अवैध प्रेम सम्बन्ध रहेछ । जयन्तीले शिवचरणको अर्की युवतीसंग पनि अवैध सम्बन्ध रहेको कुरा थाहा पाएपछि दुवै जनाबीच खटपट सुरु भएको अनुसन्धानबाट खुलेको छ ।

जयन्तीका श्रीमानले उनलाई शिवचरणसंग आपत्तिजनक अवस्थामा रंगेहात समातेपछि गाउ“लेहरुको छलफलमा शिवचरणलाई दुई लाख रुपैयाँ जरिवाना तिराउने सहमति भएको पनि प्रहरी अनुसन्धानबाट खुलेको एसपी जबराले बताए ।

शिवचरणले दुई लाख जरिवाना तिर्ने सहमतिसँगै अबदेखि कहिल्यै पनि जयन्तीसंग नजिक नहुने बताए पनि आफूलाई बारम्बार भेट गर्न बोलाउने गरेकाले हत्याको योजना बनाएको जयन्तीले प्रहरी समक्ष स्वीकार गरेकी छिन् ।

हत्यामा संलग्न दुई युवक भने फरार रहेको प्रहरीले जनाएको छ । जयन्तीले ती युवाहरुलाई सुपारी दिएर शिवचरणको हत्या गर्न लगाएकी हुन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शिवचरण गेटा आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्दै आएका थिए । उनको टाउकोमा धारिलो हतियार प्रहार गरेको पाइएको थियो ।

निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै निर्माणाधिन नालामा टाउकोमा गहिरो घाउ, रगत बगिरहेको र छड्के परेको अवस्थामा उनको शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार