प्रहरीसंगको भिडन्तमा एक भारतीय तस्करको मृत्यु
महेन्द्रनगर / प्रहरीसंगको दोहोरो भिडन्तमा एक तस्करको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ मा पर्ने टेडुवा–पौलाहमा भारतीय तस्कर समुह र प्रहरीबीच गोली हानाहान हुँदा गम्भीर घाइते भएका तस्करको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
अन्दाजी २५ वर्षीय मृतक युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दोहोरो गोली हानाहानमा प्रहरी जवान वीरबहादुर साउँदकोे खुट्टामा चोट लागेको छ ।
बिहीबार साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल खड्काको नेतृत्वमा गएको टोलीमाथि भारतीय तस्करले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कारबाही स्वरुप गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले भारतीय तस्करबाट नेपालमा लागूऔषध ल्याउन लागेको सूचनाका आधारमा प्रहरीको टोली परिचालन भएको बताए ।
उनका अनुसार चार/पाँच जनाको संख्यामा रहेका समुहका एकजना मृतकको छातीमा गोली लागेको छ ।
भारततर्फ फरार भएका तस्करहरुमध्ये एक जनाको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । घटना स्थलबाट प्रहरीले लागू औषध सहित नक्कली नोट बनाउने मेसिन र कागजात समेत बरामद गरेका छ ।