१४ बैशाख २०८१, शुक्रबार

कोरोना विरुद्धको खोप अभियान : महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिंदै



धनगढी । धनगढी उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ ।

कोरोना विरुद्धको खोप अभियान प्रभावकारी बनाउन घरघरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने उपमहानगरपालिकाले जनाएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा नग प्रमुख नृपबहादुर वडले कोरोना विरुद्धको खोप अभियान अन्तर्गत खोप लगाउन प्राथमिकतामा रहेका ब्यक्तिहरुलाई अनिवार्य रुपमा खोप लगाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने बताए ।

नगर प्रमुख वडले अहिले पनि कोभिड १९ विरुद्धको खोपबारे कतिपयमा व्यक्तिमा गलत बुझाई र भ्रम रहेको चर्चा गरे । उनले भने– कोरोना विरुद्धको खोपबारे रहेका भ्रम तथा गलत बुझाई चिर्न तथा खोप अभियानलाई प्रभावकारी बनाउन घरघरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेका छौं ।

नगर उपप्रमुख सुशीला मिश्र भट्टले विश्व स्वास्थ्य संगठनले नै ढुक्कसंग कोभिड १९ बिरुद्धको खोप लगाउन आग्रह गरिरहेकाले भ्रममा नपर्न सबैमा आग्रह गरिन । उनले भनिन्– बरु खोप नलगाउदा जोखिम हुन्छ ।

उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले कोभिड १९ विरुद्धको खोप अभियान प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने धनगढी उपमहानगरपालिका नै पहिलो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार