७ बैशाख २०८१, शुक्रबार

सेतीमा हाडजोर्नी र मेरुदण्ड सल्यक्रिया सेवा शुरु



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिय सेवा शुरू भएको छ ।

हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर ज्ञानेन्द्र जोशीको नेतृत्वमा सेती प्रादेशिक अस्पतालमा सो सेवा शुरु गरिएको बताइएको छ ।

डाक्टर जोशीको नेतृत्वमा गत शुक्रबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ४५ वर्षीया बिष्ना देवी साउदको सफल शल्यक्रिया गरिएको जनाइएको छ ।

कञ्चनपुरकी विष्नादेवी रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीको हड्डी भाचिएर नसा च्यापिएको थियो ।

डाक्टर जोशीले भने– बिष्ना देवीको समयमै शल्यक्रिया नभएको भए उनी हिड्न समेत सक्ने थिइनन् । र उनको हात पनि चल्ने थिएन । शल्यक्रियापछि उनको अवस्थामा निकै सुधार भएको छ ।

कैलाली अस्पतालमा सेवा दिंदै आएका डाक्टर जोशीले एक हप्तादेखि सेती प्रादेशिक अस्पतालमा पनि सेवा दिन शुरु गरेका थिए । उनले हालसम्म १४ जनाको हाडजोर्नी तथा मेरुदण्डको सफल शल्यक्रिया गरिसकेको बताए ।

डाक्टर जोशीले भने– सेती प्रादेशिक अस्पतालमा जनशक्ति, आवश्यक उपकरण अभाव रहेका कारण समस्यो छ ।

उनले सेती प्रादेशिक अस्पतालले आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्न प्रयास गरिरहेको प्रतिक्रिया दिएको बताए । उनले भने– शल्यक्रिया गर्दा आवश्यक पर्ने सामग्री समेत काठमाडौंबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।

डेढ महिनाअघिसम्म सुदूरपश्चिम प्रदेशका हाडजोर्नी तथा मेरुदण्डको समस्या भएका बिरामीले उपचारका लागि काठमाडौं तथा भारतका विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता रहेको थियो । डाक्टर जोशीले भने– अब सेती प्रादेशिक अस्पताल र प्रदेश सरकारले सेवालाई थप गुणस्तर बनाउन ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार