७ बैशाख २०८१, शुक्रबार

विजनेश नभएपछि बैठक लगातार दोस्रो पटक स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेशको सातौ अधिवेशनको आज आह्वान गरिएको बैठक स्थगित भएको छ । प्रदेश सभामा सूचना टाँस गर्दै बैठक स्थगित भएको जानकारी दिइएको हो ।
सो सूचनामा विशेष कारणले वैठक स्थगित गरिएको उल्लेख छ । यसअघि सोमबार आह्वान गरिएको बैठक पनि सुरु नहुँदै सूचना टाँस गरि स्थगित गरिएको थियो । प्रदेशको अर्को बैठक भोली (बिहिबार) दिउँसो १ बजे आह्वान गरिएको छ ।

प्रदेश सभाको विषयगत समितिमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफल सकिएर आज सभामा पेश गरिने कार्यक्रम रहेको सभामुख अर्जुनबहादुर थापाले बताए । उनले भने –‘सो विधेयकलाई विषयगत समितिले अन्तिम रुप नदिएपछि बैठक स्थगित गरिएको हो ।’ उनले भोली आह्वान गरिएको बैठक जसरी पनि सञ्चालन हुने बताए । उनले भने –‘विषयगत समितिले ‘सुदूरपश्चिम प्रदेशको वीऊबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेशको दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई अन्तिम रुप दिइसकेका छन । भोली यी दुई विधेयकमध्ये एउटा टेवल हुने छ ।’

सातौ अधिवेशनको पाँचौ बैठकसम्म आइपुग्दा सभाबाट एक अध्यादेश र एक ऐन पारित भइसकेको छ भने विजनेश नहुँदा दुई पटक बैठक स्थगित गरिएको छ ।

प्रदेशको सातौ अधिवेशन शुरु भएदेखि चौथो बैठकबाट वातावरण संरक्षण सम्बन्धी कानुन संशोधन र एकिकरण गर्न बनेको अध्यादेश र पाँचौ बैठकबाट सुदूरपश्चिम प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । अहिले प्रदेश सभाको विषयगत समितिमा चार वटा विधेयक दफाबार छलफलमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार